हेटौंडामा ५० बेडको होल्डिङ स्टेसन

0
Shares

  • न्युज अफ नेपाल,हेटौंडा

जल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडामा होल्डिङ स्टेसन सञ्चालन गर्ने भएको छ । विभिन्न मुलुकबाट स्वदेश फर्कने नेपालीको संख्या बढेपछि यस्तो निर्णय गरिएको हो । सबै स्थानीय तहका प्रमुख÷उपप्रमुखसहित बैठकले भारतलगायत वैदेशिक रोजगारीबाट जिल्लामा आउने क्रम बढेपछि स्थानीय तहको सहकार्यमा होल्डिङ स्टेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

विदेशबाट आएका नागरिकले आफ्नो स्थानीय तहको क्वारेन्टाइन जानुअघि केही समय आराम गर्ने स्थान नभएको अबस्थामा जिससले हेटौंडाको बनविज्ञान अध्ययन संस्थानमा होल्डिङ स्टेसन बनाउन लागेको जिसस मकवानपुर प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।

स्थानीय तह समन्वय बैठकले जिल्लामा बाहिरबाट आउने मकवानपुरका नागरिकलाई बढीमा एक दिनसम्म राख्न मिल्ने गरी ५० बेडको स्टेसन सञ्चालन गर्ने निर्णय गरिएको हो । होल्डिङ स्टेसनका लागि जिल्ला समन्वय समितिमा गठन गरिएको विपद् व्यबस्थापन कोषमा आवश्यकताअनुसार आर्थिक योगदान गर्नुपर्ने खुलालको भनाइ छ ।

होल्डिङ स्टेसनमा बढीमा एक रातसम्म राख्न सकिने उहाँले बताउनुभयो । होल्डिङ स्टेसन एक साताभित्र सचालन गर्ने तयारी गरिएको खुलालको भनाइ छ । स्थानीय तहका अध्यक्षसँग छलफल गरेर होल्डिङ स्टेसन निर्माण अघि बढाइएको उहाँले बताउनुभयो । होल्डिङ स्टेसनका लागि हरेक स्थानीय तहले २ लाख रुपियाँका दरले सहयोग गर्ने प्रतिवद्धता जनाएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।

लकडाउन सुरु भएपछि पछिल्लो दिन मकवानपुरमा भारतसहित अन्य देशबाट मानिस आउन सुरु गरिसकेका छन् ।
बैठकमा सरकारले जारी गरेको लकडाउनको पालना गर्दै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाउँदै अनुशासित भएर जनजीविकालाई सामान्यीकरण गर्नेतर्फ स्थानीय तहहरु अझ बढी क्रियाशील हुने तथा स्थानीय तहहरुले बाहिरबाट आएका र आउने सम्भावना भएकाको लगत संकलन तथा आँकलनसहितको प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ ।

बैठकले सबै स्थानीय तहमा भएका क्वारेन्टाइन व्यबस्थित गरिने तथा विदेशबाट घर फर्किएकाप्रति सकारात्मक धारणा, सभ्य व्यबहार र सकारात्मक सोच राखेर सहयोग गर्न जनचेतना फैलाउने र अपमानजनक व्यबहार नगर्न आह्वान गर्ने निर्णय पनि गरेको छ ।