‘सबै वडामा अनिवार्य क्वारेन्टाइन’


ललितपुर, (नेस)

विदेशमा रहेका नेपाली धमाधम फर्किएसँगै गोदावरी नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन बनाउने कार्य अघि बढाएको छ ।

नगरपालिकाको कार्यपालिकाको बैठकले प्रत्येक वडामा क्वारेन्टाइन बनाउने निर्णय गरेको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिनुभयो । ‘सबै वडामा कम्तीमा एकवटा क्वारेन्टाइन तयार गर्ने योजनाअनुरूप आवश्यक कार्य अघि बढाएका छौं ।’ –मेयर महर्जनले भन्नुभयो ।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको बताउँदै मेयर महर्जनले भन्नुभयो– ‘विदेश गएका यहाँका मानिस आउँदा कोरोना भाइरस संक्रमित हुने सक्ने आशंका गर्दै टोल–टोलमा खैलाबैला मच्चिने सक्ने अवस्था आउने छ । त्यसलाई ध्यानमा राखेर क्वारेन्टाइन बनाउने निर्णय गरेका हौं ।’

नगरपालिकाले २० शैय्याको क्वारेन्टाइन व्यवस्था गर्ने निर्णय गरेको छ । नगरपालिकाले प्रत्येक वडाका विद्यालय, संघ–संस्था र सामुदायिक भवन प्रयोग गरी क्वारेन्टाइन व्यवस्था गर्ने निर्णय गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

नगरपालिकामा हरेक वडामा क्वारेन्टाइन तयार गर्न बुद्धिजीवी, राजनीतिज्ञ, शिक्षक, व्यापारी, समाजसेवी तथा सम्बन्धित सबैलाई सूचनामार्फत आग्रह गरेको छ । यसअघि गोदावरीले वडा नं ११ बज्रवाराही चापागाउँ अस्पतालमा १० शैय्याको क्वारेन्टाइन व्यवस्था गरेको थियो ।