संसद्मा सांसदको व्यंग्य ‘हरियो वन, तस्करको धन’


काठमाडौं, (नेस)

मुलुकभित्र वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भइरहेको भन्दै सत्तारूढ दल नेकपाका सांसद गंगा चौधरीले नेपालको वन तस्करको धन भनेर व्यंग्य गर्नुभयो ।

मन्त्रालयगत बजेटमाथि छलफलका क्रममा शनिबार संसद्मा बोल्दै सांसद चौधरीले नारा जस्तो व्यवस्थापन नभएको भन्दै वैज्ञानिक वन व्यवस्थापन कार्य रोकिनुपर्ने धारणा राख्नुभयो ।

‘वनसम्बन्धी नारा असाध्यै राम्रो छ । हरियो वन नेपालको धन तर पछिल्लोपटकको वैज्ञानिक वन व्यवस्थापनले गर्दा हरियो वन तस्करको धन सावित भएको छ ।’ –उहाँले भन्नुभयो ।

वैज्ञानिक वन व्यवस्थापन गर्दा उल्टै वन विनाश हुँदै गरेको दाबी गर्दै उहाँले वन विनाश रोक्न यस कार्य यथाशीघ्र रोकिनुपर्ने धारणा राख्नुभयो ।

वन व्यवस्थापनको नाममा पछिल्लो चरण सुदूरपश्चिमलगायत चुरेका साथै मुलुकभर काठको अवैध ओसारपसार भएको भन्दै तीव्र आलोचना भइरहेको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा वनमा अत्यावश्यकरूपमा काठ निकाल्ने कार्यमा मात्रै ध्यान गएको गुनासो बाहिर आएको छ ।