बजेटप्रति राजनीतिक दलको प्रतिक्रिया

समाजवादको बाटो पक्रिएको छ: प्रचण्ड, असफलताको दस्तावेज हो: रिजाल, क्यान्सरलाई झारफुकजस्तो भयो: भट्टराई

0
Shares

काठमाडौं, (नेस) ।

सरकारले यस आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति सत्तापक्षले समाजवादको बाटो पक्रने गरी ल्याएको बताएको भने प्रमुख प्रतिपक्ष दल कांग्रेसले असफलतालको दस्तावेज भएको प्रतिक्रिया दिएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिर्जनात्मक ढंगबाट समाजवादको बाटो पक्रने गरी बजेट आएकोमा खुसी व्यक्त गर्नुभएको छ । आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले निकै सन्तुलित तथा जनतालाई राहत दिने प्रकारको बजेट प्रस्तुत भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– ‘समाजवादको बाटो पक्रने गरी बजेट आएकोमा म खुसी र सन्तुष्ट छु ।’

संघीय संसद् भवनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै डा. बाबुराम भट्टराईले २२ अर्ब रुपियाँबाट यति ठूलो संकटको उपचार भन्ने विषय सम्भव नभएको बताउनुभयो ।

त्यस्तै स्वदेशमा र विदेशमा रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा रोजगारी दिने भनिए पनि जम्मा ७ अर्ब रुपियाँ मात्र बजेट थप गरिनु पर्याप्त नहुने बताउँदै सरकारले अप्ठेरो समयमा पनि विगतकै निरन्तरतामा बजेट ल्याएको भट्टराईको प्रक्रिया दिनुभयो । भट्टराईले आगामी आर्थिक वर्षको बजेटलाई क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको टिप्पणीसमेत गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले भने आर्थिक वर्षको बजेटलाई नेकपाको असफलताका रूपमा यो दस्तावेज भएको प्रतिक्रिया दिएको छ । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले बिहीबार संसद्मा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिनुभएको हो ।

‘बजेट सरकार र नेकपाको असफलताका रूपमा आएको छ, झन्डै दुई तिहाइको बलशाली सरकारले यस्तो कठिनाइका बेला नयाँ भिजनसहितको बजेट ल्याउन सक्नुपर्दथ्यो, कल्पनाशीलता प्रदर्शन गर्न सक्नुपर्दथ्यो, त्यो गर्न सकेन ।’ –उहाँले भन्नुभयो ।

अर्थतन्त्रको आकार नबढ्ने भएकाले राजस्वको लक्ष्य भेट्न कठिन हुने बताउँदै उहाँले राजस्वको अनुमान संशोधितभन्दा २२ प्रतिशतले बढाउने भन्नु यथार्थपरक नभएको प्रतिक्रिया दिनुभयो ।

नेता रिजालले संशोधित १ सय २१ अर्बबाट ३ सय अर्ब वैदेशिक ऋण उठाउने भन्ने कुरा सम्भव नभएको बताउँदै लक्ष्यअनुसार आन्तरिक ऋण उठाइयो भने उद्योगी व्यवसायीलाई बजारबाट ऋण लिन गाह्रो पर्ने बताउनुभयो ।