सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजित


न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले सबै प्रकारको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड रकम विनियोजित गरेकाे बताए।

विभिन्न क्षेत्रमा सामाजिक सुरक्षा भत्ता कटौती गर्न लागेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको जनाएको हो।उनले ज्येष्ठ नागरिकका लागि एकलाख रुपैयाँसम्मको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरे । त्यस्तै ४ लाख विपन्न परिवारले निशुल्क रुपमा स्वास्थ्य बिमा गराउनेगरी बजेटको व्यवस्था गरेको बताए ।

गरिब परिचयपत्र वितरण आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने समेत उनले बताए ।

त्यसैगरी सरकारले हरेक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा केन्द्र निर्माण हुन बाँकी रहेका स्थानीय तह र वडामा केन्द्र स्थापना गरिने जानकारी दिए ।