प्रदेश १ मा सबैभन्दा बढी कोरोना सङ्क्रमित झापाको कचनकवल


न्युज अफ नेपाल, भद्रपुर ।

झापामा सबैभन्दा बढी कोरोना सङ्क्रमित दक्षिणी झापाको कचनकवल गाउँपालिकामा भेटिएको छ । बुधबार मात्र झापामा १७ जना कोरोना सङ्क्रमित पुष्टि भएसँगै झापमा ५४ जना पुगेका छन् । कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । यसअघि कचनकवलमा ३३ जना कोरोना पुष्टि भइसकेकोमा बुधवार १५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

त्यसैगरी जिल्लाको गौरदाह नगरपालिकामा बुधबार दुई जना नयाँ कोरोना सङ्क्रमित भेटिएको छ । बाह्रदशी गाउँपालिकामा दुई, झापा गाउँपालिका र दमक नगरपालिका एक एक जना सङ्क्रमित भेटिएको थियो । त्यसमध्ये बाह्रदशी र दमकका एक एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

बुधबार भेटिएका १७ जना पनि भारतको सङ्क्रमित क्षेत्रबाटै स्वदेश फर्किएका हुन् । कचनकवलमा भेटिएको १५ जना भारतको मुम्बई, दिल्ली, गुजरात, अलिगढ भन्ने स्थानबाट आएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।

सङ्क्रमित सबै जना गाउँपालिका ५ स्थित जानकी आधारभूत विद्यालयको क्वारेनटाइनमा बसेका थिए । सङ्क्रमित हुनेमध्ये वडा नम्बर ५ का १३ जना, वडा नम्बर ६ र ७ का एकर एक जना रहेको छ । उनीहरूको उमेर समूह १९ देखि ५७ वर्षसम्मका हुन् ।

गाउँपालिकाले आइतबार स्वास्थ्यकर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र क्वारेनटाइनमा बसेकाहरू गरी १६२ जनाको स्वाब सङ्कलन गरी पिसीआरका लागि विराटनगर पठाएको थियो ।

त्यसमध्ये बुधवार ५६ जनाको रिपोर्ट आएको प्रमुख यादवले बताउँनुभयो । अरूको रिपोर्ट आउने क्रममा रहेको छ । जानकीको क्वारेनटाइनमा बसेका ३२, स्वास्थ्यकर्मी र प्रहरीसहित ४६ जनाको आएको रिपोर्टमा १५ जना पोजेटिभ देखिएको हो । त्यसमा स्वास्थ्यकर्मी र प्रहरी रिपोर्ट भने नेगेटिभ आएको छ ।

अरू २० जनाको रिपोर्ट महेन्द्र रत्न माविको क्वारेनटाइनमा बसेकोबाट आएको हो । कचनकवलमा हाल १०९ जनाको स्वाब सङ्कलन गर्न बाँकी रहेको छ । लक्ष्मी मावि बनियानीमा ७२ जना, घेरावारिमा २७ र पाठमारीको जानकी माविको क्वारेनटाइन १० जना रहेका छन् । उनीहरू सबै जना केही दिन अघि आएर बसेका हुन् ।’

भारतबाट आउने सबै जनालाई सुरक्षित रूपमा क्वारेनटाइनमा लगेर राखिएकोले गाउँघरमा संक्रमण फैलिन नपाएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिनुभयो । गाउँपालिका भारतबाट साढे ३ सय बढी गाउँबासी फर्किसकेका छन, अरू पनि आउने क्रममा रहेको छ । आउने सबैलाई क्वारेनटाइनमा राखिने उहाँको भनाइ छ ।

यता गाउँपालिकाले संक्रमण रोक्न जेठ १६ गतेसम्म पुरै गाउँपालिकाले सिल गरेको छ । उता गौरदाह नगरपालिकामा भेटिएका सङ्क्रमित दुई जना वडा नम्बर ९ का रहेका छन् । उनीहरू दुवै जना भारतबाट आएका हुन् । उनीहरु काँकडभिट्टा नाकाबाट प्रवेश गरेका हुन् । बुधवार भेटिएका १७ जना सङ्क्रमितलाई उपचारका लागि धरान र विराटनगर पठाएको छ ।