किस्ट मेडिकल कलेजमा मृत्यु भएका व्यक्ति लिभर सिरोसिसको दीर्घरोगी थिए


 भगवती तिमल्सिना, काठमाडौँ ।

किस्ट मेडिकल कलेजमा मृत्यु भएका बुङमती निवासी ५७ वर्षीय व्यक्ति लिभर सिरोसिसका बिरामी भएका र ज्वरो समेत आएकाले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा कोरोना पनि पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे भन्नुहुन्छ- ‘मृतक व्यक्ति लिभर सिरोसिस भइसकेका बिरामी भएको र पाटन अस्पतालबाट रिफर भै किस्ट मेडिकल कलेजमा ११ जेठमा ओपीडिमा देखाएर घर फर्किएका थिए । पुनः राती गाह्रो भयो भन्दै आफन्तले आकस्मिक कक्षमा ल्याई भर्ना गरि उपचार शुरु गरिएको रहेछ । उपचारकै क्रममा उनको स्वाब परिक्षण गरिएको र रिपोर्ट पोजेटिभ देखिएको हो ।’

डा.पाण्डेले भन्नुभयो—‘उहाँ कलेजोको दीर्घरोगी हुनुहुँदो रहेछ त्यसमा कोरोना संक्रमण पनि थपियो । सक्रमण कसरी र कोबाट भयो भन्ने विषयमा हामी खोजी गर्दैछौं ।’ शव व्यवस्थापनका लागि अस्पताल शिल भैसक्यो । अस्पताल र स्वास्थ्य मन्त्रालयको टोलीका बीच बैठक भैरहेको छ । बैठकले तय गरे अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य हुन्छ ।

स्थानीय चिकित्सक, कम्युनीटी मेडिसिन र हाम्रो टीम बसेर कसरी एक्सपोजर भएको खोज्ने कामका लागि आवश्यक मापदण्ड बनाउछ । डा.पाण्डेले थप स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गर्दै गरेको जानकारी गराउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तिम प्रकृया सकेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जानकारी पठाएपछि मात्र स्वास्थ्य मन्त्रालयले मृत्यु घोषणा गर्न मिल्छ ।

‘प्रकृयागत काम हुँदैछ’ -स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्नुहुन्छ । कोरोना संक्रमण देखिएको यो पाँचौ केश हो । अस्पताल स्रोतका अनुसार मृतक व्यक्तिलाई किस्ट मेडिकल कलेजमा ११ गते राती देखि एमआईसीयू वार्डमा भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो । १४ गते बुधबार दिउसो परिवारकै आग्रहमा भेन्टीलेटरबाट बाहिर निकालेपछि उहाँको मृत्यु भएको हो ।

अहिले अस्पताल सिल्ड गरि मृतकसँगको ट्रेसिङ कन्ट्याक पहिचान गर्ने कार्य भैरहेको छ । शुरुका दिन देखि उपचारमा संलग्न चिकित्सक अस्पताल आईपुग्दै हुनुहुन्छ । अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि पहिचान गर्ने तयारी भैरहेको छ । अस्पतालमा अहिले अस्पताल पक्ष, स्थानिय स्वास्थ्य संस्था, इपिडिमियोलोजीको व्यवस्थापन टीमसँग बैठक चलिरहेको छ ।