कक्षा ११ र १२ को प्रश्नपत्र बोर्डमा पुग्यो


ईश्वरराज ढकाल, काठमाडौं ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा कक्षा ११ र १२ को प्रश्नपत्र अन्यत्र सार्न आग्रह गरेपछि राष्ट्रिय परीक्षा बोर्डले करिब ५६ लाख थान प्रश्नपत्र सार्न थालेको छ ।

परीक्षा सुरक्षा समितिको आइतबार बसेको बैठकले प्रश्नपत्र सार्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान) डा. सञ्जय शर्मा अध्यक्ष रहेको सुरक्षा समितिको बैठकले परीक्षा कहिले हुने भन्ने विषयमा अनिश्चितता बढ्दै गएपछि तत्कालका लागि बोर्डको सानोठिमीस्थित मुख्यालयको भवनमा राख्ने निर्णय गरेको थियो ।

निर्णयसँगै मंगलबाबाट प्रश्नपत्र सार्न शुरू गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका साथै प्रमुख शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुल्सी थपलिया र बोर्डका सदस्य–सचिव दुर्गा अर्याल रहेको सुरक्षा समितिको बैठकले प्रश्नपत्र बोर्डको भवनमा सार्र्ने निर्णय गरेको थियो । बैठकमा चारै सुरक्षा निकायले उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

‘मंगलबारबाट प्रश्नपत्र सार्न थालिएको हो ।’ –बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भन्नुभयो । उहाँका अनुसार अब यो वर्षको प्रश्नपत्र बोर्ड कार्यालयबाट परीक्षा केन्द्रमा पु¥याउने व्यवस्था गर्न लागेको हो ।

प्रश्नपत्र राख्दा तीन घेराको सुरक्षा हुनेछ । भित्री भागमा नेपाली सेना, त्यसपछि सशस्त्र र अन्तिममा नेपाल प्रहरीले रहने बोर्डले जानकारी दिएको छ ।

नेपाली सेनाको सेनानीको टोलीले प्रश्नपत्रको सुरक्षा दिने उल्लेख भए पनि हाल क्याप्टेनको नेतृत्वमा करिब १८ जना सेनाले प्रश्नपत्रको सुरक्षा दिने व्यवस्था गरिएको छ । सशस्त्र र नेपाल प्रहरीको छुट्टै सुरक्षा टोली रहनेछ । सुरक्षा टोली बोर्डको कार्यालयमै बस्नेछन् ।

जनक शिक्षाको सुरक्षण मुद्रणालयमा छपाइ गरिएको प्रश्नपत्र प्रदेशअनुसार फरक छ । बोर्डले प्रश्नपत्र छपाइ गरेलगत्तै जनक शिक्षाबाटै परीक्षा केन्द्रमा प्रश्नपत्र पठाउने गरिएको थियो । यो वर्षका लागि फागुन २२ मा प्रश्नपत्र छपाइ गर्न परीक्षा नियन्त्रकसहितको टोली पुगेको थियो ।

करिब एक महिना बसाइपछि प्रश्नपत्र जनक शिक्षामै राखेर टोली फार्किएको थियो । लकडाउनका कारण परीक्षा स्थगित भएपछि बोर्डका परीक्षा नियन्त्र कृष्णप्रसाद शर्माको नेतृत्वको टोलीले फागुनमा प्रश्नपत्र छपाइ गरेको थियो ।

परीक्षा हुने अनिश्चित भएको र छापाखानामा प्रश्नपत्र राख्दा समस्या हुने भएपछि प्रश्नपत्र अन्यत्र स्थानान्तरण गर्न बोर्डलाई आग्रह गरिएको जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले जानकारी दिनुभयो । हामीले पुस्तक छाप्ने भएपछि प्रश्नपत्र हटाउन बोर्डलाई आग्रह गरेको उहाँको भनाइ थियो ।

तीनवटा छापाखाना मेसिन, कटिङ मेसिनसहित विभिन्न छपाइ सामग्री रहेको जनक शिक्षामा पाठ्यपुस्तक राख्ने ठाउँ नभएपछि हटाउन आग्रह गरेको आचार्यको भनाइ छ ।

उहाँले बोर्डलाई आग्रह गरेपछि प्रश्नपत्र हटाइएको हो । बोर्डका अध्यक्ष पौडेलले प्रश्नपत्र सुरक्षित हुने गरी तत्कालका लागि बोर्डको कार्यालयमा राख्न थालिएको जानकारी दिनुभयो । बोर्डले कक्षा १० को एसईई परीक्षाको प्रश्नपत्र केन्द्र नजिकै प्रहरी कार्यालयमा पु¥याइसकेको छ ।

यो वर्ष कक्षा ११ र १२ मा गरी ९ लाख ३६ हजार ५ सय ४६ विद्यार्थी छन् । परीक्षामा १ सय ८६ विषय छन । तीमध्ये कक्षा ११ मा अनिवार्य २, १२ मा अनिवार्य १ विषयको प्रश्नपत्र छपाइ गरेको थियो ।

समयमै पाठ्यपुस्तक छपाइ गरी बिक्री गर्न नसकेको आरोप खेपेको जनकले प्रश्नपत्रको सुरक्षामाथिको प्रश्न आएपछि बोर्डमा सबै प्रश्नपत्र बोर्डमा लागिएको हो ।

तालिकाअनुसार वैशाख ८ देखि १२ र २१ बाट ११ को परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । चैत ११ गतेबाट लक डाउन भएपछि परीक्षा कहिले हुने ? भन्ने अन्योल देखिएको छ ।

परीक्षामा झन्डै ५० हजार बढी छात्राको संख्या रहेको छ । परीक्षामा ४ लाख ४२ हजार ९ सय ९७ छात्र र ४ लाख ९३ हजार ५ सय ४९ छात्रा सहभागी हुँदै छन् ।