नखुल्ने भयो गणतन्त्र स्मारक, मूल कार्यक्रम नै स्थगित


ईश्वरराज ढकाल, काठमाडौं ।

यो वर्षदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी भएको गणतन्त्र स्मारक नखुल्ने भएको छ । लकडाउनले सबै क्षेत्र अस्तव्यस्त भएका कारण पहिलोपटक खुला गर्ने कार्यक्रम स्थगित भएको हो । १२औं गणतन्त्र दिवसको मूल कार्यक्रम आयोजना गर्ने गरी तयारी भए पनि कोभिड–१९ का कारण सबै कार्यक्रम स्थगित भएको हो ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको गणतन्त्र स्मारक खुला गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘लकडाउनका कारण गणतन्त्रको कार्यक्रम स्थगित भएको हो, लकडाउनपछि खुला गर्ने गरी तयारी भइरहेको छ ।’

सरकारले गएको माघमा गणतन्त्र स्मारक समितिलाई हस्तान्तरण गरेको थियो । सोही दिन गणतन्त्र दिवसको दिनबाट खुला गर्ने गरी तयारी भएको थियो । गणतन्त्र दिवस यही बिहीबार पर्छ । समितिले मूल कार्यक्रम आयोजना गर्ने गरी तयारी थाल्दै गरेको अवस्थामा लकडाउन भएपछि यो वर्षको मूल कार्यक्रम स्थगित भएको छ ।

सरकारले स्मारक निर्माण सम्पन्न भएको सात वर्षपछि सो स्मारक समितिलाई हस्तान्तरण गरेको थियो । शहरी विकास तथा भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण शुरू गरेको थियो ।

स्मारकमा राष्ट्रिय शहीद दिवसको दिन शहीदहरूप्रति सम्मान गर्ने व्यवस्था गर्न लागिएको थियो । गणतन्त्र आउनुअघि शहीद गेटमा रहेका चार शहीदको शालिकमा सम्मान गर्ने कार्यक्रम थियो । समितिले गृह मन्त्रालय, नेपाली सेना, काठमाडौं महानगरपालिका र समितिले गर्ने सबै कामको विवरण तयार गरी संस्कृति मन्त्रालयमा पेस गरेको थियो ।

‘गणतन्त्र दिवस मात्र नभई विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख नेपाल आउँदा शहीदको सम्मान गर्न गणतन्त्र स्मारक पुग्नैपर्ने व्यवस्थासहित विभिन्न निकायको कार्य विवरण तयारी गरी मन्त्रालयमा पठाएका थियांै, कार्यान्वयन हुन नपाउँदै लकडाउन भएपछि सबै काम रोकिएको छ ।’ –समितिका कार्यकारी निर्देशक दाहालले भन्नुभयो ।

स्मारकलाई विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखको नेपाल भ्रमणमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने स्थलका रूपमा विकास गरिने समितिको कार्यादेशमा उल्लेख छ ।

कार्यादेशमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्चपदस्थ पदाधिकारी शहीदप्रति सम्मान व्यक्त गर्न यही स्तम्भमा पुग्ने व्यवस्था गरिएको छ । विदेशी राष्ट्राध्यक्ष वा उच्च ओहदाका पाहुना नेपाल भ्रमणको क्रममा यही स्मारकमा माल्यार्पण गर्ने कार्यक्रम रहने समितिको भनाइ छ ।

चारवटा खम्बाको बीचमा रहेको खाली ठाउँमा नेपालको नक्सा बनाइएको सो नक्सा अब परिवर्तन हुने भएको छ । लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सा राख्ने तयारी भइरहेको कार्यकारी निर्देशक दाहालले बताउनुभयो ।

स्मारकको जमिनमुनिको एउटा तलामा बैठक, सभाहल, विशिष्ट कक्ष र दोस्रो तलामा फोटोसहितको ऐतिहास दस्तावेज ग्यालरी कक्ष रहनेछ । कार्यकारी निर्देशक दाहालले दक्षिण एसियाकै नमुना आधुनिक, डिजिटल स्मारकका रूपमा विकास गर्ने गरी सौन्दर्यीकरण गर्ने कामको शुरुआत भइसकेको अवस्थामा यो वर्षको कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।