नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुग्यो


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा स्थानीय वृद्धको मृत्यु भएको एक सातापछि कोरोना संक्रमणको पुष्टि भएको छ ।

रुघाखोकी र दमलगायत समस्याबाट पीडित वीरगन्ज १२ का ७० वर्षीयलाई उनका आफन्तले जेठ २ गते अस्पतालमा भर्ना गरेका थिए । वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिएपछि चिकित्सकले तत्कालै भेन्टिलेटरमा राखेर उपचार भईरहेको उनको दुई दिनपछि अर्थात् जेठ ४ गते मृत्यु भएको थियो ।

वृद्धको उपचारका क्रममा कोरोना संक्रमणको लक्षण देखिएका आधारमा उनको पीसीआर जाँचका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो । तर, उक्त जाँचको रिपोर्ट नआउँदै उनको मृत्यु भएपछि अस्पतालले सद्गतका लागि शव परिवारजनलाई जिम्मा लगाएको थियो ।

अन्त्येष्टि भएको एक सातापछि उनी संक्रमित भएको पुष्टि भएपछि उनका परिवारका सबै सदस्यलाई पीसीआर जाँच गर्ने तयारी भइरहेको जनाइर्एको छ। कोरोना संक्रमितको मृत्यु भएको प्रदेश २ का लागि यो पहिलो घटना हो ।

योसँगै सङ्क्रमितको संख्या ६७५ पुगेको छ । सङ्क्रमितमध्ये १०५ जना उपचार पछि निको भएका छन् भने कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीय महिला नेपालगंजमा क्वारेन्टाइनमा रहेका एक युवक र गुल्मीका शिक्षकको मृत्यु भइसकेको छ।