तनहुँ,
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि पुगेका तनहुँवासी सुनौली सीमामा अलपत्र परेपछि उद्धार थालिएको छ । कोभिड–१९ को जोखिमपछि जिल्ला फर्कन लागेका तनहुँवासी सुनौली सीमामा अलपत्र परेपछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयको पहलमा उनीहरुको उद्धार शुरु गरिएको हो ।
सुनौली सीमामा आइपुगेका देवघाट गाउँपालिकाका तुलबहादुर गुरुङले त्यहाँ रहेका तनहुँवासीको तथ्याङ्क उपलब्ध गराएपछि उनीहरुलाई उद्धारको पहल गरिएको सामाजिक अभियानकर्मी खड्क आलेमगरले जानकारी दिनुभयो । भारतीय प्रहरीले नेपालीलाई सीमासम्म ल्याएर छाडिदिएको गुरुङलाई उद्धृत गर्दै मगरले बताउनुभयो ।
“भारतीय पक्षले नेपालीलाई सीमा कटाएर अलपत्र पारेर छाडिदिएको त्यहाँ रहेका तनहुँवासीले भन्नुभएको छ, त्यहाँ रहेका तनहुँवासीको तथ्याङ्क सङ्कलन गरेर प्रशासन कार्यालयमार्फत उद्धार शुरु भइसकेको छ”, उहाँले भन्नुभयो । सीमामा अलपत्र परेका तनहँुवासीलाई उद्धार गर्नका लागि जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेसँग समन्वय गरेको आलेले बताउनुभयो । आलेका अनुसार त्यहाँ रहेकामध्ये २५ जनालाई शुक्रबार नै उद्धार गरेर जिल्ला फर्काइएको छ ।
उद्धार गरिएकामध्ये देवघाट गाउँपालिकाका दुई, ऋषिङ गाउँपालिकाका छ, भीमाद नगरपालिकाका १०, म्याग्दे गाउँपालिकाका तीन, घिरिङ गाउँपालिकाका तीन र व्यास नगरपालिकाका एक रहेका छन् । साथै सोही ठाउँमा रहेका जिल्लाका विभिन्न ५० तनहुँवासीमध्ये ३० लाई उद्धार गर्नका लागि प्रशासन कार्यालयबाट पास उपलब्ध भइसकेको छ ।
बाँकी २० जनालाई पनि उद्धारका लागि पास बनाउने प्रक्रिया शुरु भएको छ । तीमध्ये घिरिङ गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिकालगायतका ठाउँका छन् । उद्धार गरिएकाहरु भारतको विभिन्न शहरमा रोजगारीका लागि गएका हुन् ।
तनहुँका अन्य पनि भारतबाट फर्कन सक्ने भएकाले उनीहरुलाई राख्नका लागि स्थानीय तहले क्वारेन्टिन बनाएका छन् । उद्धार गरेर ल्याइएकालाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा राखिनेछ । जिल्लाका १० स्थानीय तहमा हालसम्म १९४ श्ययाको क्वारेन्टिन निर्माण गरिएको छ भने ५०० श्ययाको क्वारेन्टिन बनाउने तयारी स्थानीय तहले गरिसकेका छन् ।
त्यस्तै पाँच स्थानमा ४२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुको पिसीआर परीक्षणलाई पनि तीव्रता दिइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । हालसम्म ८२ को स्वाब परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ ।
प्रतिक्रिया