सुन्दरबजार अस्पतालमा रेबिजविरुद्धको खोप सेवा


शिक्षा पन्त, लमजुङ ।

लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित सुन्दरबजार अस्पतालमा रेविजविरुद्धको खोप सेवा सुरु भएको छ । अस्पतालमा कुकुरको टोकाईबाट लाग्ने रेविज रोग विरुद्धको खोप सेवा सुरु गरिएको हो ।

पहिलो पटक सुन्दरबजार नगरपालिका–५ थाक्लेका ३६ बर्षीय धनदेबी बराल र सुन्दरबजार नगरपालिका ६ मिलनचोकका १३ बर्षका अभिषेक थापालाई रेबिज विरुद्धको खोप लगाएर सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादर भट्टराईले बताउनुभयो । सेवाग्राहीको समस्यालाई मध्यनजर गरी सुन्दरबजार क्षेत्रमा पहिलोपटक निःशुल्क खोप सेवा सुरु गरिएको हो ।

कुकुरले टोकेको खण्डमा जुनसुकै समयमा पनि अस्पताल आएर सेवा लिन सकिने र पहिले अस्पतालमा भ्याक्सिनको व्यवस्था नहुँदा नागरिकलाई बेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको भट्टराईको भनाई छ ।

सुन्दरबजार अस्पतालमा नै निशुल्क रेबिजविरुद्धको खोप लगाउनु पाउदा आफ्नो समय र धनको बचत भएको स्थानिय बेदबहादुर थापाले बताउनुभयो । सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाको संयोजनमा रेबिजविरुद्धको खोप सेवा सुरु गरिएको सुन्दरबजार नगरपालिका ७ का वडाध्यक्ष जयराम रेग्मीले बताउनुभयो ।