अन्नपूर्ण गाँउपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर बितरण


टंकराज अधिकारी, पाेखरा ।

कास्कीको अन्नपूर्ण गाँउपालिकाले कृषकलाई हाते ट्याक्टर बितरण गरेको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने साथै परम्परागत कृषि पेशालाई व्यवसायिक एवं आधुनिकीकरणतर्फ उन्मुख गराउन कृषकलाई ३५ वटा हाते ट्याक्टर बितरणगरेको हो ।

गाउँपालिकाले चालु आवको बजेटबाट ६० जना किसानलाई हाते ट्याक्टर वितरण गर्ने लक्ष्य लिएकोमा आइतवार गाउँपालिका भवनबाट सम्बन्धित वड़ा कार्यालयबाट सिफ़ारिश भई आएका वडा १ देख़ि ७ सम्मका ३५ जना किसानहरूलाई अनुदानमा हाते ट्याक्टर (मिनिपावर टिलर) बितरण गरेको हो । प्रतिट्याक्टर कुल ५० हजार रूपैया मध्य किसानले २५ हजारमा ट्याक्टर प्राप्त गरेका हुन् ।

गाउँपालिकाका ८-११ वड़ाका २५ जना किसानलाई केहि दिन भित्र वितरण गर्ने अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले गएको ३ वर्षको समयमा २०० जना किसानलाई हाते ट्याक्टर वितरण गरिसकेको छ । गाँउपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि गाउँपालिकाका कृषकहरु हर्षित भएका छन ।

श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । अध्यक्ष कुँवरले गाउँपालिकाले कृषि उत्पादन गर्न खोजेको मात्र हो सहयोग यहाँहरूको हो, ट्याक्टर वितरण गर्दै छिटो छरितो मौसमी बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताउनुभयो ।

परम्परागत रुपमा गोरु जोतिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारी बताउनुहुंछ।