वीरगन्जका सबै सञ्चारकर्मीको नतिजा नेगेटिभ


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको वीरगन्जका दुई पत्रकारमा कोरोना भाइरस पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेका सबै सञ्चारकर्मी तथा संक्रमितको परिवारका सदस्यहरूको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य मंत्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार वीरगन्जमा कोरोनाबाट संक्रमित दुई सञ्चारकर्मीको सम्पर्कमा आएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको हो भने परिवारका सदस्यहरूको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

दुई जना वीरगन्जका क्रियाशील पत्रकार भएका कारणले आफूहरूको सम्पर्कमा आएका सबै सञ्चारकर्मी तथा परिवारका सदस्यहरूलाई कोरोना परीक्षण गर्न उनीहरूले सुझाएका थिए ।

उनीहरूकै सुझावका आधारमा दुई दिनअघि वीरगन्जको नारायणी अस्पतालमा उनीहरूको स्वाब परीक्षण गरिएको थियो । स्वाब दिएको दुई दिनपछि नतिजा सार्वजनिक भएको र परीक्षण गरिएका सबै पत्रकारहरूको रिपोर्ट नेगेटिभ आएको वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

संक्रमित दुई परिवारका सदस्यहरूको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुबैका पत्नीसहित छोराहरूको कोरोनाको रिपोर्ट नेगेटिभ आएको पनि संक्रमित पत्रकारहरूले नै सामाजिक सञ्जालमार्फत बताएका छन् । संक्रमित दुवै जना पत्रकारको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।

आफूहरूमा कुनै स्वास्थ्य समस्या नभएको र बरु बस्नका लागि भने फोहोर वातावरणका कारण समस्या भएको र पोषिलो पदार्थ नपाएको बताएका छन् । पर्सामा दुई जना पत्रकारसहित संक्रमितको संख्या ९१ रहेको छ भने जसमध्ये तीन जना भारतीय निको भएर घर फर्किएका छन् ।