अखबारको पृष्ठमा विज्ञापन छपाएर विरोध


पेरिस, (एजेन्सी)

फ्रान्सको फुटबल क्लब अमीन्सले विरोध गर्ने नौलो तरिका अपनाएको छ । लिग वानबाट रेलिगेसन भएपछि अमीन्सले फ्रान्सको एक अखबारमा विरोधस्वरुप पुरै पृष्ठ विज्ञापन दिएको हो ।

मंगलबार फ्रान्समा प्रकाशित हुने अखबार एलइक्विपमा एक पृष्ठ अमीन्स क्लबको विज्ञापन छापेको हो । कोरोनाभाइरसको कारण लिग वान पुनसंचालन नगरी रद्द गरेर लिग डी फुटबल प्रोफेसनल (एलएफपी) ले वर्तमान अंकतालिकाको आधारमा निर्णय गरेको थियो ।

जसअनुसार पेरिस सेन्ट जर्मेन –पीएसजी) ले उपाधि जित्यो भने अमीन्स र टूलूज लिग टू मा झरेका थिए । एलएलपीको निर्णय विरुद्ध अमीन्सले फ्रान्सेली जनतालाई उनीहरुको सन्देस फैलाउनको लागि अखबारको सहारा लिएको जनायो ।

एलएफपीले निर्णय सार्वजनिक गर्दा अमिन्स सुरक्षित स्थानबाट ४ अंकले पछाडि थियो । जबकी टोलीले १० खेल अझै खेल्न बाँकी थियो । क्लबले अनलाइनमा १७ हजार भन्न बढीको हस्ताक्षर पनि जम्मा गरेको थियो ।