गल्याङ नगरपालिकामा बाहिरबाट तरकारी ल्याउन नपाइने

0
Shares

भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा नगरपालिका बाहिरबाट तरकारी ल्याउन निषेध गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम झनै बढिरहेको भन्दै गल्याङ नगरपालिकाले बाहिरबाट तरकारी ल्याउन प्रतिबन्ध लगाएको हो ।नगरपालिकाले नगरपालिकाभित्रकै तरकारीलाई व्यवस्थापन गर्ने विकल्प सहित बाहिरबाट तरकारी ल्याउन निषेध गरेको सूचना मंगलबार प्रकाशित गरेको छ ।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले एक सूचना जारी गर्दै तरकारी ढुवानी गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढि हुने भएकाले गल्याङ नगरपालिका भन्दा बाहिरबाट तरकारी ढुवानी नगर्न नगराउन अनुरोध गर्नुभएको छ ।  सूचनामा नगरपालिका भित्रै उत्पादित तरकारी खरिद विक्रीका लागि नगरपालिकाले समन्वय गरिएको जानकारी पनि गराइएको छ ।

नगरप्रमुख अधिकारीले कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पनि दैनिक रुपमा बढिरहेको र गल्याङ नगरपालिकाबाट दक्षिण तर्फ तराईका जिल्लाहरुमा पनि यसको संक्रमण फैलिरहेको सन्दर्भमा लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गर्न पनि अनुरोध गर्नुभएको छ ।

सूचनामा नगरपालिका भित्र तरकारी संकलन तथा वितरणका लागि नगरपालिकासँगकै समन्वयमा तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले व्यवस्थापन गरिरहेको अवगत गराउँदै तरकारी उत्पादन भई विक्री नभए वा तरकारी खरिद गर्नुपर्ने भएमा सम्पर्क व्यक्तिहरुको नम्बर पनि दिइएको छ ।
यसका लागि नगर कार्यपालिका प्रबक्ता गणेश बस्याल, सम्बन्धित वडा अध्यक्ष, कृषि शाखा प्रमुख शिब ढकाल र तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीलाई सम्पर्क गर्न सूचनामा अनुरोध गरिएको छ ।