क्वारेन्टाइनमा बसेका ९३० जना घर फर्किए

0
Shares

खलङ्गा ।

जुम्लाका आठ स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका ९३० जना १४ दिनको अवधि पूरा गरेर घर फर्केका छन् । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७४७ र मंगलबार १८२ जनालाई कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएपछि घर पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।

यहाँको चन्दननाथ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा एक, हिमा गाउँपालिकामा २७, तातोपानी गाउँपालिकामा ४८, पातारासी गाउँपालिकामा ४९ र गुठीचौर गाउँपालिकामा ५७ जना मात्र क्वारेन्टाइनमा रहेको जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । तिला, कनकासुन्दरी र सिंजा गाउँपालिकाका क्वारेन्टाइन मंगलबारदेखि खाली भएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।

जिल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले कोभिड–१९ संक्रमण भएनभएको परीक्षण गर्दै आएको छ । यसबाहेक यहाँका स्थानीय तहका विभिन्न स्थानमा ¥यापिड डायग्नोष्टिक टेष्ट विधिमार्फत पनि परीक्षण भइरहेको प्रतिष्ठानका निर्देशक मंगल रावलले बताउनुभयो ।

जिल्लाभर ५२१ शय्याको क्वारेन्टाइन, १२० शय्याको आइसोलेशन र नौ हेल्थ डेस्कमा हालसम्म १० हजार ९७० जनाले स्वास्थ्य परीक्षण गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बतानुभयो ।

एक हजारको पिसिआर परीक्षण

प्रतिष्ठान र जनस्वास्थ्य कार्यालयले यहाँका एक हजार जनाको पिसिआर परीक्षण गर्न तयार गरेको छ । जिल्लामा कोरोना संक्रमित नभेटिएकाले स्थानीयबासीको घरदैलामै पुगेर स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने तयारी थालिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो ।

आठ स्थानीय तहका ६० वडामा आइतबारदेखि स्वास्थ्यकर्मी परिचालन गरिएको छ । एक वडामा कम्तीमा १० जनाको स्वाब परीक्षण सकाएर पिसिआर विधिबाट परीक्षण गरिने जनस्वास्थ्य प्रमुख सापकोटाले बताउनुभयो ।