प्रदेश राजधानीका सबै नाका बन्द

0
Shares

न्युज अफ नेपाल,हेटौँडा ।

छिमेकी जिल्लामा कोरोनाको संक्रमण बृद्धि हुँदै गएपछि बागमती प्रदेशको राजधानी हेटौंडामा पूर्वपश्चिम राजमार्गको बारासँग सिमाना जोडिएको चुरियामाई क्षेत्रहुँदै हेटौंडा आवतजावत बन्द गरिएको छ ।हेटौंडामा बसेको कमाण्ड पोष्ट बैठकले लकडाउनलाई कडा बनाउने निर्णय गर्दै दक्षिणी नाकामा प्रहरी पोष्ट खडा गर्ने र हेटौंडा आउने सवारीसाधनको कडा निगरानी गर्ने भएको हो ।

बैठकले विहान ९ बजेसम्म खाद्यान्न तथा ग्यास पसलमात्र खोल्न पाउने निर्णय गरेको छ भने औषधी तथा भेटेरिनरी, कृषि औषधी पसललाई दिनभर खोल्न दिने निर्णय गरेको छ । बैठकले जेठ १ गतेबाट माछामासु तथा तरकारी बजार पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । तरकारीका लागि सहकारीमार्फत् कुनै स्थानबाट बितरण गर्ने नीति अवलम्बन गर्ने निर्णय कमाण्ड पोष्टले गरेको हो ।

बैठकले तराईका जिल्लाबाट हेटौंडा छिर्ने अन्य नाकामा समेत कडाइ गर्ने निर्णय गरेको छ । छिमेकी जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढेसँगै हेटौंडामा सतर्कता अपनाइएको छ । मकवानपुरसँग नजिकको जिल्ला पर्सामा देशभरमा सबभन्दा बढी कोरोना भाइरस संक्रमित देखिएपछि जिल्लामा पनि सतर्कता अपनाइएको बैठकमा सहभागी हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभयो ।

विशेषगरी हेटौंडाको चुरेक्षेत्रबाट जंगलबाट तराईका जिल्लाका कामदार आएकाले उनीहरुलाई रोक्न उक्त क्षेत्रका वडा अध्यक्ष र स्थानीयको समिति बनाएर कामदार आउने क्रमलाई रोकिने मेयर महतले बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरमा बसेको बैठकले कोरोना संक्रमित बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाबाट तरकारी, फलफुल, मानिस, माछामासु, कामदार तथा श्रमिक नल्याउने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । उक्त निर्णय गर्दा बारा र पर्सालाई बढी लक्षित गरिएको छ ।