चार दिनदेखि अवरुद्ध इन्टरनेट सेवा शुरु

0
Shares

डोटी ।

अप्टिकल फाइवरमा आएको खराबीका कारण डोटीमा अवरुद्ध भएको नेपाल टेलिकमको इन्टरनेट तथा ल्याण्डलाइन सेवा आजबाट सञ्चालनमा आएको छ । अप्टिकल फाइवरमा आएको खराबीका कारण शनिबार रातिदेखि नेपाल टेलिकमको इन्टरनेट तथा ल्याण्डलाइन सेवा अवरुद्ध भएको थियो । आवश्यक मर्मतसम्भार गरेपछि आजबाट सो सेवा शुरु भएको हो ।

जिल्ला सदरमुकाम सिलगढीस्थित जिरोप्वाइन्टस्थित नेपाल टेलिकमको अप्टिकल फाइवरमा शनिबार राति आएको हुरीबतासले रुख ढल्दा भएको खराबीका कारण यहाँका पिपल्ला, दिपायल, राजपुरलगायतका बजारमा इन्टरनेट तथा ल्यान्डलाइन सेवा पूर्णरुपमा बन्द भएको थियो । कर्मचारीको लामो प्रयासपछि अवरुद्ध भएको सेवा सञ्चालन गरिएको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अप्टिकल फाइवरमा रुख ढल्दा ल्याण्डलाइन र नेट सेवा बन्द भएको थियो, हामीले डडेल्धुरा जिल्लाबाट अप्टिकल फाइवरको कनेक्सन माग गरेर सेवा शुरु गरेका छौँ ।”

नेपाल टेलिकमले आफ्नो रेडियो लिङ्कबाट फोन तथा इन्टरनेट सेवा सञ्चालन गर्न प्रयास गरे पनि रेडियो लिङ्कले सपोर्ट नगर्दा सेवा सञ्चालन हुन सकेका थिएन । डडेल्धुरा जिल्लाको टेलिकम कार्यालयसँग काम चलाउनका लागि अप्टिकल फाइवरको कनेक्सन माग गरेर डोटी टेलिकमले आफ्नो सेवा सञ्चालन गरेको छ ।

ल्याण्डलाइन तथा इन्टरनेट सेवा सञ्चालनपछि जिल्लामा बन्द भएको बैंकिङ कारोवार तथा एटिएम सेवासेमत सञ्चालन भएको राष्ट्रिय वाणिज्य बैंक दिपायलका सुवोध पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “ल्याण्डलाइन र नेट नहुँदा बैंकिङ कारोवार र एटिएम सेवामा समस्या भएको थियो, नेट चलेपछि हाम्रा सेवा सञ्चलान भएका छन् ।” नेपाल टेलीकमको सेवा बन्द भए पनि जिल्लामा निजी कम्पनीको सुबिसु नेट सेवा भने सञ्चालनमा रहेको थियो । पछिल्लो समय डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा पटक–पटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती हुने गरेको छ ।