भोटेकोसीका विस्थापितलाई एकीकृत बस्ती

470
Shares

नानीराम नेपाल,सिन्धुपाल्चोक ।

भूकम्पले घर भत्काइदियो, जग्गाजमिन नै पहिरोको उच्च जोखिममा परेपछि भोटेकोसी गाउँपालिका ५ लाम्पातेका स्थानीय थातथलोबाटै बिस्थापित बने । बिस्थापित उनीहरुका लागी राज्यले जग्गा उपलब्ध गरायो, तर दुई बर्षसम्म घर बनाउँन भने सकेनन बिस्थापितहरुले । भूकम्पपछि बिस्थापित बनेर अस्थायी संरचनामा बसोबास गर्दै आएका उनीहरुका मुहारमा भूकम्पको पाँच बर्षपछि खुसी फर्कीएको छ ।

दाताले एकीकृत बस्ती बनाइदिएपछि भोटेकोसी गाउँपालिका ५ को त्याङथलीमा लाम्पातेका विस्थापित स्थानीय आपसमा खुसी साटीरहेका छन् । खानेपानी र शौचालयसहित लाम्पातेका २२ बिस्थापित परिवारका लागी चिटीक्क परेका घर ठडयाइएको छ । भोटेकोसी गाउँपालिकाले त्याङथलीको एकीकृत बस्तीसम्म नै सडक लगिदिएपछि बिस्थापितहरुले सुविधासम्पन्न बस्ती पाएका छन् ।

औपचारीक रुपमा बस्ती हस्तान्तरण नभएपनि बिस्थापितहरु एकीकृत बस्तीका घरमा बस्न थालिसकेका छन् । लकडाउनका कारण हस्तान्तरण गर्न सकिएन, बिस्थापितहरु घरमा बसिसकेका छन्, एकीकृत बस्ती निर्माणमा सहजीकरण गरिरहेको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भन्नुभयो ।

लाम्पातेका बिस्थापितका लागी राज्यले घर बनाउनका लागी त्याथलीमा जग्गा खरीद गरिदियो । तर बिस्थापितहरुले दुई बर्षसम्म घर बनाउन भने सकेका थिएनन् । त्यसपछि भोटेकोसी गाउँपालिका र पुननिर्माण प्राधिकरणसँग समन्वय गर्दै दाताले एकीकृत बस्ती निर्माणको योजना अघि सारेका थिए । जग्गा त राज्यले किनिदियो, दुई बर्षसम्म घर ठडिएन, त्याङथली एकीकृत बस्ती निर्माण तथा संरक्षण समितका अध्यक्ष पदम बहादुर तामाङले भन्नुभयो। एककिृत बस्तीको योजना आएपछि दुई महिनामै सिंगो बस्ती उठेको उहाँले बताउँनुभयो ।

विस्थापितका लागी एकीकृत बस्तीको योजना आएपछि गाउँपालिकाले त्याङथलीसम्म मोटरबाटो लगेर सहजीकरण गरेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउँनुभयो ।अक्सफामको सहयोगमा जनहित ग्रामीण सेवा समितिमार्फत निर्माण सम्पन्न भएको एकीकृत बस्ती निर्माणमा १ करोड ५९ लाख रकम खर्च भएको छ । स्थानीय स्वयं श्रममा जुटेका कारण कम लागतमै खानेपानी र शौचालयसहित २२ घर निर्माण गर्न सकिएको दाताले जानकारी दियो । दाताका अनुसार प्रतिघर ७ लाख २५ हजार लागत लागेको छ ।