बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला


विनोदसिंह विष्ट, बैतडी

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन् । पछिल्ला केही वर्षयता बैतडीजस्ता पहाडी जिल्लामा पनि औलोका बिरामी देखिन थालेका हुन् ।

इनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो वर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । जिल्लाको शिवनाथ गाउँपालिका–२ जोलापानीकी ६ वर्षीया अस्मिता साउदमा औलोरोग भएको पुष्टि भएको छ ।

केही दिनअघि ज्वरो आएकी साउदको परीक्षण गर्दा औलो देखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले बताउनुभयो । साउदको अहिले उपचार भइरहेको छ ।

एक जनाको औलो देखिएपछि उनका घर–परिवारका अन्य सदस्यको औलो परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले सुत्ने बेला झुलको प्रयोग गरेर सुत्ने, घरवरिपरिको वातावरण सफा राख्नुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् ।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका–६ का एक ४८ वर्षीय पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । ती पुरुषमा अत्यधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस पुष्टि भएको हो । माइटका कारण सर्ने यो रोगबाट गत साल बैतडीमा ४० भन्दा बढी संक्रमित भएका थिए ।