छिटो गोल गरेका मार्क युनाइटेडमा


लन्डन, (एजेन्सी)
म्यानचेस्टर युनाइटेडले १६ वर्षीय उदीयमान खेलाडी मार्क जुरादोका लागि बार्सिलोनासँग १ दशमलव ५ मिलियन पाउन्डमा सम्झौता गर्ने भएको छ ।

प्रिमियर लिग क्लबले मार्कलाई ३ वर्षका लागि सम्झौता गर्न लागेको हो । उनी युवामा छिटो गोल गर्ने खेलाडी हुन् । उनले खेल शुरु भएको ५ सेकेन्डमा गोल गरेका हुन् । क्याटालानले उनलाई छाड्न नचाहेको तर ओल्ड ट्राफोर्डमा स्टार बन्न सक्ने जनायो ।

जुरादोले सन् २०१३ मा बार्सिलोनाको यु–१० टोलीका लागि भिलाडेकान्सविरुद्ध सानदार खेल देखाएका थिए । उनले खेल शुरु भएलगत्तै दुई डिफेन्डरलाई छल्याएर उत्कृष्ट गोल गरेका थिए । सो गोलमार्फत् विश्वमा चर्चा भएका उनले कीर्तिमानी पुस्तकमा आफ्नो नामसमेत लेखाएका थिए । उनले खेलको पाँचौं सेकेन्डमा गरेको गोल युवास्तरमा अहिलेसम्मकै सर्वाधिक छिटो गोल हो ।

जुरादो बार्सिलोनाभन्दा १८ माइल्स टाढा काटालुन्यास्थित साबाडेलमा जन्मेका थिए । उनले स्थानीय टोली सीएफयूका लागि खेलेका थिए । यसपछि उनी ७ वर्षको उमेरमा ला मासियामा आबद्ध भए । उनले बार्सिलोनाको भविष्यको महत्वपूर्ण हिस्सा हुने विश्वास गरेका थिए । तर उनले युनाइटेडका लागि खेल्ने अवसरलाई खेर फाल्न नचाहेको खुलासा गरे ।

फरवार्ड जुरादोको एट्याकिङ निकै उत्कृष्ट छ । उनी दायाँ विंगबाट खेल्ने खेलाडी हुन् । बार्सिलोनाको क्याडेट ए टोलीमा उनी यस सिजनमा उत्कृष्ट खेलाडी थिए । उनलाई जुभेनिल बी टोलीमा बढुवा गर्न अपेक्षा गरिरहेको थियो ।