कोरोनाको कहरमा नगरपालिकाले किसानहरुलाई दियो धानको बिउ

0
Shares

सरोज यादव, मोरङ ।

लकडाउन नखुले पनि सरकारले कृषिसँग सम्बन्धित काम भने सुचारु गर्न सकिने जनाएको छ । सोही कुरालाई मध्यनजर गर्दै मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रका किसानहरुलाई धानको बिउ वितरण सुरु गरेको छ । एकातिर लकडाउन लम्बिरहेको छ भने अर्कातिर खेती किसानीको समय पनि सुरु भएको छ । लकडाउनका कारण देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषि कर्ममा समेत अवरोध आउँदा खाद्य संकटसमेत निम्तिन सक्नेतर्फ सचेत हुँदै सरकारले कृषि क्षेत्रका काम सुचारु गराउने निर्णय गरेको छ ।

सोहीअनुसार खास गरी नेपालको मुख्य बाली धान खेतीको समय सुरु भएसँगै मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रका किसानहरुलाई उन्नत जानको धानको विउ वितरण गरेको छ । सुन्दरहरैंचा नगरपालिका उपमेयर धनमाया तामाङले कृषकहरुलाई धानको विउ हस्तान्तरण गर्नुभयो । उहाँले हरेक वर्ष ठूलो मात्रामा धान आयात गरिरहनु परेको समयमा कृषि क्षेत्रलाई अझ चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

नगरले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा १२ भन्दा बढी जातका धानको बीउ वितरण गरेको छ । जसमा कान्छी मन्सुली, साम्भा मन्सुली, गरिमा मन्सुली, संवरण सब, महिमा, लल्का बास्मती, सुखा ३, कालो नुनिया, राधा १२, राम, रन्जित धानलगायत रहेका छन् ।

सुन्दरहरैंचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले नगरले १२ जातका ३३८ बोरा धानको बीउ कृषकलाई वितरण गरेको जानकारी दिनुभयो । नगरका प्रत्येक वडाबाट कृषकको निवेदन प्राप्त गरी सोही निवेदनको आधारमा कृषकलाई धानको बीउ वितरण गरेको उहाँको भनाइ छ । यसरी लकडाउनको समयमा पनि नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा धानको विउ पाएपछि कृषकहरुसमेत हर्षित भएका छन् ।