कोशी अस्पतालबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

0
Shares

सरोज यादव ,विराटनगर ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप २ जना आइतबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताउनुभयो ।

अस्पतालबाट डिस्चार्ज भएका दुवैजनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतलगायतले विदाई गर्नुभएको थियो । डिस्चार्ज भएका भोजपुरका राईले गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएको बताउनुभयो ।

झापा बा¥हदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको बताउनुभयो । डिस्चार्ज भएका दुवै जनाले अस्पतालले भने अनुसार क्वारेन्टाइनमा १४ दिन बस्ने बताएका छन् । राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताउनुभयो । बा¥हदशीका आलमले घरमै निर्माण गरिएको क्वारेन्टाइनमा बस्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले विदाई गर्दै अनिवार्य क्वारेन्टाईनमा बस्न सुझाव दिनुभयो । कोभिड अस्पतालमा उपचाररत आज २ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । अस्पतालमा १९ जना अहिले उपचाररत रहेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. मिश्राले बताउनुभयो ।

सैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । पिसिआरबाट २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ । त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।