सीमामा अलपत्र नेपालीको उद्धार गर्न मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र

0
Shares

यमलाल भुसाल,बुटवल ।

नेपाल–भारत सीमा क्षेत्र अलपत्र परेका नेपालीलाई अविलम्ब स्वदेश ल्याउन कांग्रेस सांसदले माग गर्नु भएको छ् । रुपन्देहीको क्षेत्र नंं ५ (ख) बाट निर्वाचित सांसद फखरुद्दिन खाँनले प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउंदै भारतका विभिन्न राज्यबाट हजारौं नेपाली रुपन्देहीसहित प्रदेश ५ का ६ वटा तराईका जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेको उल्लेख गर्दै उनीहरुलाई तत्काल स्वदेश ल्याउन माग गर्नु भएको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको असरले भारतका विभिन्न राज्यमा रोजगारी गरिरहेका नेपालीहरु रोजगारी गुमेपछि र ती राज्यले प्रत्यक्ष अप्रत्यक्षरुपमा नेपाल फर्कन दवाव दिएकाले ढिला नगरी नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सांसद खानले माग गर्नु भएको हो ।

दशगजामा आइपुगेर एक हप्तादेखि जोखिमपूर्ण ढंगले बस्न वाध्य नेपालीहरुलाई स्वदेश ल्याउनुको विकल्प नभएकाले ढिला नगर्न उहाँले सरकारसंग आग्रह गर्नु भएको छ । सरकारले सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउन ढिला गर्दा कतिपयले सुरक्षाकर्मीलाई रकम बुझाएर रातको समयमा लुकिछिपी खुला सीमाको फाइदा उठाउंदै नेपाल प्रवेश गर्ने गरेकाले कोरोना संक्रमण फैलिनसक्ने सांसद खानले औंल्याउनु भएको छ ।

सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई अबिलम्ब नेपाल भित्राई सबैलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गर्न र बेरोजगारलाई स्वदेशमै रोजगारी दिन अब बन्ने नीति तथा कार्यक्रम र वजेटमा व्यवस्था गर्न पनि सांसद खानले प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको हो । रुपन्देहीको सीमा नाकामा नेपाल आउनका लागि १४ सय नेपाली रहेका छन ।