बत्तीस सय तिरेर महाकाली पार, बीच बाटोमै अलपत्र


बैतडी, (नेस)

२ हजार भारतीय रुपियाँ प्रतिव्यक्ति (३२ सय नेरु) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका ३ जना बैतडीमा अलपत्र परेका छन् ।

अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छायानाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन् ।

भारतको पिथौरागढमा मजदुर गर्दै आएका उनीहरू गएराति महाकाली नदीमा ट्युबमार्फत बैतडी पुगेका हुन् । महाकालीमा ट्युब तरेपछि सदरमुकाम गोठलापानी पुगेपछि लकडाउनका कारण अलपत्र परेको मुगुका सागर रोकायाले बताउनुभयो ।

‘गोठलापानीमा अहिले सडकपेटीमा बसिररहेका छौं, लकडाउनले यहाँ खान–बस्नसमेत समस्या भएको छ’, उहाँले भन्नुुभयो– ‘खान–बस्नका साथै पानी परिरहेकाले बस्नसमेत निकै गाह्रो भएको छ ।’

पिथौरागढबाट हिँडेर सीमानाका पुगेका उनीहरू आजससम्म पनि भोकै रहेका छन् । कमाएको पैसा सबै सकिएपछि भोकै रात–दिन काट्नुपरेको सागरको भनाइ छ । उद्धारका लागि प्रशासन र सम्बन्धित पालिकालाई गुहार्दासमेत केही पहल नभएको उनीहरूको गुनासो रहेको छ ।

स्थानीय प्रशासनसँग घरसम्म पु¥याउन भनेको भए पनि आफ्नै पैसाले जानेभएपछि मात्रै पुगाउन सकिने नत्र जहाँ हुनुहुन्छ त्यहीं बस्न भनेको दैलेखका जनक देवकोटाले बताउनुभयो । ३ महिनाअघि रोजगारीका लागि पिथौरागढ पुगेका उनीहरू डेढ महिनादेखि लकडाउन हुँदा समस्या भए पनि नेपाल फर्किएका हुन् ।

आफ्नै पैसाले जान सकिने अवस्था नरहेको दैलेखका रत्न रिजालको दुखेसो रहेको छ । उहाँले भन्नुुभयो– ‘कमाएको ४ हजार रहेकोमा २ हजार भारु ट्युब तर्दा भाडा तिरें, अब ८ सय मात्रै बाँकी रहेको छ कसरी घर पुुग्नुु ।’

यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने अलपत्र मजदुरको कसरी उद्धार गर्ने विषयमा छलफल जारी रहेको बताउनुभयो । उहाँले भन्नुुभयो– ‘अलपत्रको उद्धारका लागि सम्बन्धित पालिकाले पहल गर्नुपर्छ ।’ यसअघि बिहीबार र शुक्रबार गरी सुदूरपश्चिमका विभिन्न जिल्लाका २२ जनाको बैतडीबाट उद्धार गरिएको थियो ।