हरिहरपुरगढी गाउँपालिकामा सुरक्षाकर्मीको अभावमा सिमा नाकामा समस्या

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको पश्चिमी भेग हरिहरपुरगढी गाउपालिकामा लकडाउन कार्यान्वयन गराउन सुरक्षाकर्मीको अभाव भएको छ । सुरक्षाकर्मी अभाव हुदाँ लकडाउनमा पनि तराईका जिल्लाहरु सर्लाही र रौतहट जिल्लासँग सिमाना जोडिएको नाकाहरुमा लुकिछिपी आउनेक्रम रोक्न समस्या भएको गाउपालिकाले जनाएको छ । गाउपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार लकडाउनमा पनि कोरोना भाईरस संक्रमित भेटिएको जिल्लाहरुबाट मानिसहरु लुकिछिपी आउने गरेका छन् ।

यसरी लुकिछिपी तराईका जिल्लाबाट मानिसहरु आउदाँ गाउपालिकामा कोरोना भाईरस सर्न सक्ने जोखिम बढेको अध्यक्ष लामाले बताउनुभयो । ‘हरिहरपुरगढी गाउपालिका र छिमेकी जिल्ला सर्लाहीसँग ५ ओटा सडकबाट नाका जोडिएको छ । हाम्रा स्वायमसेवक, जनप्रतिनिधि पनि नाकामा खटिएका छन् । सुरक्षाकर्मी पनि आवश्यक पर्ने हो तर सुरक्षाकर्मीको अभाव छ ।

जिल्लामा भन्दा पनि अहिले सुरक्षाकर्मी थप गर्न नसकिने बताउछन्’ अध्यक्ष लामाले भने । उक्त नाकाहरुबाट सर्लाही, रौतहट लगाएतका जिल्लाबाट सिन्धुलीको मरिण गाउपालिका, छिमेकी जिल्ला काभ्रे सम्मका मानिसहरु लकडाउनमा पनि लुकिछिपी आउने गरेको अध्यक्ष लामाले बताउनुभयो ।‘अहिले तराईका जिल्लाहरुमा संक्रमित भेटिन थालेका छन् ।

यसरी कोरोना संक्रमित जिल्लाबाट मानिसहर आउदाँ कोरोना सर्ने खतरा बढेको छ । हामीले त कडाई गरेका छौं तर सुरक्षाकर्मी नभई थप कडाई गर्न नसकिने रहेछ’ अध्यक्ष लामाले भन्नुभयो । हरिहरपुरगढी गाउपालिकाको दक्षिणी भेगका ३ वटा वडाहरु छिमेकी जिल्ला सर्लाही र रौतहटसँग सिमाना जोडिएको छ । यी वडाहरुमा सुरक्षा दिन क्वानेश्वरमा मात्रै एउटा प्रहरी चौकी छ । क्वानेश्वर प्रहरी चौकीमा अहिले ६ जना मात्रै प्रहरी रहेका छन् ।

८ वटा वडा रहेको हरिहपुरगढी गाउपालिका ४ वटा प्रहरी चौकी छ । नेपाल सरकारको दरबन्दी अनुसार एउटा प्रहरी चौकीमा कम्तीमा पनि १० देखि १४ जना सम्म प्रहरी हुनुपर्छ । तर हरिहपुरगढी गाउपालिकाको ४ वटा प्रहरी चौकीमा मात्रै २२ जना प्रहरी अहिले कार्यरत छन् । यसले पनि हरिहपुरगढी गाउपालिकामा सुरक्षाकर्मीको कमी भएको प्रष्ट हुन्छ । सिन्धुली जिल्लाभरी नै सुरक्षाकर्मीको अभाव रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

सिन्धुलीमा अहिले ३२८ जना मात्रै नेपाल प्रहरी छन् । सिन्धुलीमा अझै १२५ दरबन्दी खाली छ । हरिहपुरगढीमा अझै अभाव छ । अहिले नै त्यो अभाव पुरा गर्न सक्ने अवस्था छैन । दरबन्दी खाली हुदाँ नै भने अनुसार सुरक्षाकर्मी खटाउन नसकिएको हो’ प्रहरी उपरिक्षक सिग्देलले भन्नुभयो ।

हरिहरपुरगढी गाउपालिकामा यो कोरोना भाईरसको महामारी सुरु हुनुभन्दा अघि नै विप्लब नेतृत्वको पार्टीको गतिविधि बढेको भन्दै सुरक्षाकर्मी थप गर्ने जिल्ला सुरक्षा समन्वय समितिले निर्णय गरेको थियो । समितिले हरिहपुरगढी गाउपालिकामा शसस्त्र प्रहरीको एउटा पोष्ट राख्ने निर्णय गरेको थियो । तर कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागु गरेपछि पोष्ट राख्ने काम रोकिएको शसस्त्र प्रहरी बल बेश क्याम्प सिन्धुलीका सशस्त्र प्रहरी नायवउपरिक्षक गोपी भट्टराईले बताउनुभयो ।‘

हरिहपुरगढी गाउपालिकामा एउटा पोष्ट राख्ने निर्णय भएर केन्द्रबाट पनि स्वीकृत भएको छ । तर अहिलेको लकडाउनले गर्दा यो काम रोकिएको छ । अहिले देशभरी नै सुरक्षाकर्मीको अभाव छ । त्यसमा पनि कोरोनाका कारण सुरक्षाकर्मी तराईका जिल्लामा बढी खटाईएको छ’ उहाँले भन्नुभयो । सिन्धुलीमा शसस्त्र प्रहरी तर्फ १४० जनाको दरबन्दी भएपनि जम्मा ७० जना मात्रै अहिले रहेको उहाँले बताउनुभयो ।