लकडाउनमा सीमामा तस्करी

0
Shares

यमलाल भुसाल,बुटवल । 

मुलक लकडाउनमा रहेको छ । नेपाल र भारत दुवै देशले आ–आफ्नो सीमा बन्द गरेका छन् । दुवै देशको सीमाबाट आवागमन अहिले गैरकानूनी भएको छ । यस्तो अवस्थामा पनि दुवै देशका केही अपराधिक मनोवृत्तिका ब्यक्तिहरुका लागी यो समय अवसर बनेको छ ।

लकडाउनकै समयमा भारतबाट अवैध रुपमा ल्याउदै गरेको कृषि सामाग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालमा प्रसस्त बिउ बिजन भए पनि तस्करी गरि भारतबाट ल्याईएका धानका बिउ भित्रयाउदै गरेको अवस्थामा शसस्त्र प्रहरीले भारतीय धानको बिउ बरामद गरेको हो ।

रोहिणी गाउँपालिका वडा नम्बर २ खुरहुरियामा सशस्त्र प्रहरी बल पजरकट्टि बेस क्याम्पबाट खटिएको टोलीले लु २ त ८३७७ नम्बरको ट्रयाक्टरमा भारतबाट ल्याउदै गरेको अवस्थामा ६ सय किलो भारतीय धानको बिउ, स्थानिय गहु २ हजार १ सय ४२ किलो, डिजिटल तराजु १ थान बरामद गरेको छ । सशस्त्र प्रहरी निरिक्षक सुुशिरबाबु पन्तको कमाण्डमा खटिएको टोलीले उक्त सामाग्री बरामद गरेको हो ।

लकडाउनको फाईदा उठाउदै सीमानाकाका अवैध कारोबारीहरु अहिले सल्बलाएका छन् । नेपालबाट भारी मात्रामा मदिरा भारत तर्फ पठाउने र भारतबाट मल, धानको बिउ लगायत अन्य सामाग्रीहरुको ओसार पसार बढेको गुनासोको आधारमा सीमामा निगरानी बढाईएको शसस्त्र प्रहरीको दावी छ । अहिले सीमा नाकामा ठाउँ ठाउँमा सशस्त्र प्रहरीको गस्ती छ ।

तत्कालको लागी स्थायी रुपमा सब बेसहरु बनाएर बसेको सशस्त्र प्रहरीको आँखा छलेर कसरी यस्ता सामाग्री नेपाल भित्रिएको छ त्यो भने शंकाकै बिषय रहेको छ । यसरी अवैध रुपमा आउने सामाग्रीले लकडाउनको उल्लंघन गर्नुको साथै कोरोनाको त्रास समेत उत्तिकै बढाएको छ ।