सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. ज्ञवाली

0
Shares

भगवती तिमल्सिना,काठमाडौ ।

सरकारले भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा त्रिवि शिक्षण अस्पतालको युरोलोजी एवं मृर्गौला प्रत्यारोपण विभागको विभागीय प्रमुख प्रा.डा प्रेम ज्ञवालीलाई नियुक्त गरेको छ । डा.ज्ञवालीले त्रिवि शिक्षण अस्पतालमा लामो समयदेखि मृगौला प्रत्यारोपण युनिटको जिम्मेवारी सम्हाल्दै आउनुभएको सिनियर चिकित्सक हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दास्रो पटक मृगौला प्रत्यारोपण पनि उहाँकै नेतृत्वमा त्रि.वि.शिक्षण अस्पताल केही समय अघि भएको थियो ।

रसियाबाट सन् १९९२ मा एमबिबिए र सन् १९९५ मा एमएस गर्नुभएका डा. ज्ञवालीले सन् २००३ मा सिंङ्गापुरबाट मिर्गौला प्रत्यारोपणमा फेलोसिप पुरा गर्नुभएको हो । नेपालको त्रिवि शिक्षण अस्पतालमा सन् २००८ को अगस्ट ८ का दिनमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सुरु भएको थियो । उहाँ शुरुका दिन देखिनै मृगौला प्रत्यारोपणका क्षेत्रमा सकृय रुपमा संलग्न हुनुहुन्छ ।

डा. ज्ञवालीले औपचारिक पत्र भने बुझीसक्नुभएको छैन । यसअघि दुई कार्यकाल अस्पतालको कार्यकारी निर्देशक भएर नेतृत्व सम्हाल्नुभएका डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल यहि बैशाख १७ गते सकिएको थियो । मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) आदेश, २०६८ नै परिवर्तन गरेर मन्त्री भानुभक्त ढकालको सिफारिसमा मन्त्रीपरिषद्ले केन्द्रको निर्देशकमा डा. प्रेम ज्ञवाली नियुक्त गरेकोमा शिक्षा मन्त्रालय अन्र्तगतका सर्जनलाई स्वास्थ्यमा नियुक्त गरेकोमा नियम विपरित भएको चर्चा चलेकोछ ।

समितिको कार्यकारी निर्देशक सम्बन्धी व्यवस्थामा – ‘नेपाल सरकारले मानव अङ्ग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाको चिकित्सकहरूमध्येबाट कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ ।’ भन्ने उल्लेख हुँदा हुँदै त्यसको व्यवास्ता गरि नियुक्त गरिएकोमा विज्ञहरुले असन्तुष्टि जनाएका छन् ।

यस अघिका कार्यकारी निर्देशक श्रेष्ठले मृगौला प्रत्यारोपणका साथै, कलेजो प्रत्यारोपणको शुरुवात पनि नेपालमै गराउँनुभयो । साथै उहाँले अंगदान लगायतका बिषयमा कानूनी प्रकृयालाई जोड दिएकै कारण यतिबेला प्रधानमन्त्रीले भान्जीको मृगौला दान लिने बाटो खुलेको पनि विज्ञहरुले चर्चा गर्दै पूर्व कार्यकारी निर्देशकको पनि सही मूल्यांकन गरिनु पर्ने जनाएका छन् ।