बिना अध्ययन संचालन भएको शरीर सेनिटाइजर मेसिन बन्द

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडामा स्थापना गरिएको शरीर सेनिटाइज मेसिन बन्द गरिएका छन् । कोरोना संक्रमणको जोखिमबाट बच्न भन्दै बिना अध्ययन मेसिन स्थापना गरिएका थिए । हेटौंडा अस्पतालका मेसु डा. प्रवीण श्रेष्ठले बागमती प्रदेश स्वास्थ्य निर्देशनालयबाट सेनिटाइज मेसिन सञ्चालनमा रोक लगाउन निर्देशन भएपछि हेटौंडा अस्पतालमा स्थापना गरिएको सेनिटाइज मेसिन प्रयोगमा नल्याइएको बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघले कोरोना भाइरसको जोखिमबाट बच्न भन्दे सेनिटाइज टनेल निर्माण गरी हेटौंडा अस्पतालपरिसरमा राखेको थियो । सेनिटाइज टनेलको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सुरु गर्नुभएको थियो । सेनिटाइज टनेल करिब ४० हजार रुपियाँ लागतमा निर्माण भएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको मुलगेटमा पनि अटोमेटिक सेनिटाइज मेसिन राखिएको छ । उपमहानगरपालिका कार्यालय प्रवेश गर्दा सेवाग्राही र कर्मचारीलाई सेनिटाइज गरेरमात्र प्रवेश दिइने गरिएको थियो । अटोमेटिक सेनिटाइज मेसिनको उपमहानगर मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभएको थियो । उपमहानगरपालिकाले एक लाख ६० हजार खर्चेर मेसिन खरिद गरेको हो । नेपाल युवा उद्यमी मञ्च चितवनले मेसिन उत्पादन गरेको जनाइएको छ ।

मकवानपुरका लायन्स र लियो क्लबको संयोजनमा गोदावरी स्टिल्स प्रालिले प्रहरीलाई टनेल सहयोग गरेको थियो । उक्त सेनिटाइजर टनेल जिल्ला प्रहरी कार्यालयअगाडि राखिएको छ । टनेलबाट सेनिटाइज गरे पछिमात्र प्रहरी कार्यालयभित्र प्रवेश दिने गरिएको थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले टनेल शुभारम्भ गर्नुभएको थियो ।

मकवानपुरमा रातोमाटे प्रहरी चेकपोष्ट, हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय र हेटौंडा अस्पताललगायत स्थानमा मेसिन स्थापना गरिएको छ । मेसिनमा प्रयोग हुने स्प्रे गर्ने तरल पदार्थ मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकोले मेसिन प्रयोग नगर्न स्वास्थ्य तथा मन्त्रालयले निर्देशन जारी गरेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले उक्त मेसिनको प्रयोगले मानव स्वास्थ्यमा असर पुग्ने बताएको छ । कोरोना संक्रमणबाट बच्न मास्क, सेनिटाइजर प्रयोग गर्ने, साबुन वा डेटोल पानीले हातहुने विधि नै उत्तम भएकोमा सरकारले जोड दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको बताएको छ ।

शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश हँुदैन । भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा भइरहने भएकोले यसले कुनै अर्थ नराख्ने उनीहरुको दाबी छ । शरीरमा छरिएको डिस्इन्फेक्टेन्टले आँखा, मुख, नाक आदिमा हानि गर्नुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुनेछ ।