कतारमा कोरोना कहर : पीडैपीडामा बित्दैछ नेपालीको दैनिकी

0
Shares

न्युज अफ नेपाल,हेटौंडा। 

नेपालमा हुनेलाई घर बसेर दिक्क । विदेश हुनेलाई स्वदेश फर्कन नपाएर दिक्क । यस्तै छ कोरोना कहर । घर फर्कन नपाएर विदेशमा छट्पटिरहेका छन् अहिले नेपाली । कोहीको जागिर गुमेको छ, कोहीले आफन्त गुमाएर पनि दुःख साट्न पाएका छैनन् । इटहरी उपमहानगरपालिका–४ का २८ वर्षीय युवा पिताको निधन हुँदासमेत घर फर्कन पाएनन् । अप्रिल २१ मा उनको पिताको मृत्यु भएको थियो । नेपाल आउने सबै उडान रद्ध हुँदा उनी आफ्नो पिताको शोकमा कतारमै छन् । पिताको मुख हेर्ने उनको इच्छा पूरा भएन ।

उनले आफ्नो पीडा परिवारसँग साट्न पाएनन् । उनले बेलाबेला म्यासेजमा भन्ने गरेका छन्–कस्तो पीडादायी संसार हो यो । पिताको मृत्यु हुँदा पनि घर जान पाइएन । उनले नेपाल आउने उडान सुचारु हुने बित्तिकै घर फिरेर पिताको बरखी बार्ने बताए । यस्तै पीडा गोरखा फुजेलका ३२ वर्षीय अर्का युवाले पनि भोग्नुपरेको छ । उनको पिताको निधन पछि सबै हेरचाह हजुरबुबाले नै गरेका थिए ।

उनले भक्कानिँदै भने–हजुरबुबा मेरा लागि मेरो सबथोक हुनुहुन्थ्यो, उहाँले बिरामी भएपछि नाति कहिले आउँछ भनेर घरमा बारम्बार सोधिरहनुहुन्थ्यो, हजुरबुबासँग उनी बेलाबेला भिडियो कल गर्थे । त्यो आवाज बन्द भएको छ । जीवन शून्यझैं भएको छ । ‘उहाँको अन्तिम इच्छा मलाई भेट्ने थियो । मैले पूरा गर्न सकिनँ,’ उनले भने । हाल उनी क्वारेन्टाइनमा बसेर हजुरबुबालाई सम्झँदै घर फर्कने दिनको प्रतीक्षामा छन् ।

सिन्धुलीका ३२ वर्षीय अर्का युवा पनि आफ्नो अभिभावक गुमाउँदा चिन्तामा छन् । उनले आफ्नी हजुरआमा गुमाएका छन् । हजुरआमालाई भेट्ने उनको अन्तिम इच्छा अब जीवनमा कहिल्यै पूरा नहुने भएको छ । उनले कम्पनीबाट रिजाइन गरिसकेका छन् । हाल उनी कोठामै बसेका छन् ।
करिब दुई महिनाअघि क्याफिट एरियामा खानाखाने बेला गफिँदै हेटौंडाका ३५ वर्षीय युवाले भनेका थिए–मैले त रिजाइन गरें, अब घर जान्छु । उनले अब नेपालमै आफ्नो कर्म गर्ने सुनाउँदै खुशी भएका थिए ।

‘तर उनको खुशी धेरै समय टिकेन । उनी घर जाने सबै तयारी गरेर अफिसियल काम सकाएर बसेका थिए । कम्पनीबाट टिकट र पासपोर्ट लिनमात्र बाँकी थियो, नेपाल सरकारले नेपालको उडान रद्ध गरेपछि उनी कतारमै रोकिएका छन्,’ कतारमा रहेका हेटौंडेली पत्रकार अनिल पराजुली भन्छन्–अर्को दुर्भाग्य, उनीसँग कोठामा बस्ने साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टाइनमा बसेका छन् । बेलाबेला गफिँदै उनी भन्ने गर्थे–पहिला विदेश जाने सपना हुन्थ्यो, अहिले विदेशबाट घर जाने ।

यी घटना र पात्रहरु केवल प्रतिनिधिमात्र हुन् । हाल खाडीमा रहेका धेरै नेपाली समस्यामा छन् । उनीहरु आफ्नो पीडा आफ्नासँग पनि साट्न नसक्ने अबस्थामा छन् । ती युवा आफ्नो परिचय खुलाउन चाँहदैनन् ।हाल कतारमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिँदै गएको छ भने कोरोना भाइरसबाट १२ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमितको संख्या थपिँदै गएपछि संक्रमित र आशंका गरिएका बिरामीलाई राख्ने ठाउँसमेत अपुग हुन थालेपछि कोरोना पोजेटिभ देखिएकालाई पनि आफ्नै कोठामा बस्न भनिएको छ ।  नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि २० मार्च अर्थात् चैत ७ गते शुक्रबारबाट युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानसहित ५५ देशबाट नेपाल आउन रोक लगाएको थियो । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपाली कार्यरत् रहेको बताइन्छ ।