प्रदेशको राजधानीमा सकियो कोरोना किट

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा ¥यापिड डाइगनोष्टिक टेष्ट (आरडीटी) लाई पूर्णरुपमा बन्देज लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निबेदन दायर गरिएको बेला बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको कोरोना भाइरस परीक्षण ल्याबमा पीसीआर परीक्षण किट अभाव भएको छ । ल्याबमा किट अभाव भएपछि स्वाब परीक्षण प्रभावित बनेको छ ।

किट अभावका कारण हेटौंडाको एकमात्र कोरोना आइसोलेसन वार्डबाट पठाइएकाहरुको स्वाब परीक्षण भएको छैन । संघीय सरकारबाट प्राप्त किट सकिन लागेको र अब आउने टुंगो नहुँदा अभाव भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।भएको किट सकिने अबस्थामा पुगेको र अब कहिले आउँछ भन्ने टुंगो नलागेको प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा विभाग प्रमुख डा. पुरुषोत्तमराज सेढार्इंले बताउनुभयो ।

संघीय सरकारले दिएको आरडीटी तथा पीसीआर टेष्ट किट सकिएपछि कोरोनाको परीक्षणमा समस्या आएको मन्त्रालयले जनाएको छ । डा. सेढाईंका अनुसार संघीय सरकारले पाँच सय पीसीआर किट दिएको थियो । डा. सेढाईंका अनुसार संघले उपलब्ध गराएका दस हजार वटा आरडीटी किट १३ जिल्लालाई बाँडिएको थियो । विदेशबाट फर्किएका र विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेकाको पहिलो चरणमा परीक्षणका लागि संघले आरडीटी किट उपलब्ध गराइएको थियो ।

कोरोना आइसोलेसन वार्ड संयोजक भोलाप्रसाद चौलागाईंले पीसीआर किट अभाव हुँदा आइसोलेसन वार्डमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरेर पठाउन समस्या भएको बताउनुभयो । हालसम्म हेटौंडामा रहेको पीसीआर ल्याबबाट ४ सय ६० जनाको स्वाब परीक्षण गरिएको छ । पीसीआरले मानिसको जीनको परीक्षण गर्ने उल्लेख गर्दै यसको विश्वसनीयता सत्प्रतिशत हुने मानिन्छ ।

हेटौंडामा चैत २७ बाट मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिँदै आएको छ । आरडीटी परीक्षण विश्वसनीय हुने नभएकोले भारत र युरोपियन देशमा यसलाई बन्देज लगाइएको अदालतमा दायर रिट निबेदनमा उल्लेख छ ।

सरकारले भरपर्दोरुपमा रहेको पीसीआर परीक्षणलाई भन्दा विश्वास नभएको आरडीटीलाई बढी मात्रामा प्रयोगमा ल्याइरहेको उल्लेख गर्दै यसले गर्दा राज्यको सम्पत्ति अनावश्यकरुपमा खेर गइरहेको पनि रिट निबेदनमा दाबी गरिएको छ । यहीबीच नेपाल सरकारलाई स्वीस सरकारले कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ ।