कोरोनाले फुटबलमा परिवर्तन ल्याउने

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं

कोरोनाभाइरस (कोभिड–१९) महामारीले विश्वका मान्छेहरुकोे स्वतन्त्रता छिनेको छ । कोरोना भाइरसले हरेक क्षेत्रमा ठूलो असर गरिरहेको छ । मानवीय क्षति पनि त्यतिकै भएको अवस्थामा यो भाइरसले कति समयसम्म असर गर्ने हो, त्यो भविष्य कोही वैज्ञानिकले पनि भन्न सकेका छैनन् । यही ज्यानमारा भाइरसले गर्दा विश्वमा यदाकदा देशलाई छाडेर अधिकांश फुटबल स्थगित भएको छ । नेपालमा पनि बी डिभिजन लिग बीचैमा स्थगित गर्नुपरेको थियो ।

कोरोना भाइरसको असरले गर्दा अबको फुटबलमा पहिले जे देखियो त्यो नदेखिने तय छ । सामाजिक दूरी राख्नुपर्ने हुँदा फुटबलमा यसको असर बढी नै देखिनेछ । मैदानमा आउँदा दुवै टोलीका खेलाडी करिब करिब ३ मिटर दूरीमा हुनेछन् । एक–अर्कासँग हात मिलाउन पाउने छैनन् । सँगै बसेर फोटो खिचाउन पाउन सकिँदैन ।

यसै गरी खेल दौरान पनि खेलाडीले सामाजिक दूरीको पालना गर्नुपर्ने हुन्छ । खेलाडीले मैदानमा दूरी बनाएर खेल्नैपर्ने हुन्छ । एक टोलीका खेलाडीले बल छल्याएर लगेमा अर्को टोलीका खेलाडीले सँगै गएर बल लुट्न पनि केही दूरी बनाउनुपर्ने हुन्छ ।

यस्तो भयो भने फुटबल खेलमा घम्साघम्सी देखिन सक्नेछैन । यसले कोही खेलाडीले पहेंलो वा रातो कार्डको आत्मसात् गर्न सक्नेछैन । अम्पायरका लागि यो राहतको विषय पनि हुनेछ ।

सबैभन्दा कर्नर किकमा खेलाडी कसरी बस्ने भन्ने कुरा आउँछ । प्रायःजसो कर्नर किक प्रहारमा गोलपोस्टमा दुवै टोलीका खेलाडीको भीड लाग्ने गर्छ । एकअर्कालाई मार्क गर्ने गर्छन्, तर अब कोरोनाले गर्दा यो भीडचाहिँ दूरीमा हुन सक्नेछ । अलगअलग स्थानमा बसेको दृश्यले फुटबलको मजा कम हुने हो भन्ने पनि लाग्नेछ । फिफाको चिकित्सक समितिले पनि कर्नरमा एकअर्कालाई छुन नपाउने नियम निकालेको छ ।

यसै सन्दर्भमा नेपालका पूर्वस्ट्राइकर तथा प्रशिक्षक बालगोपाल महर्जनले फुटबलको चार्म हराउने सम्भावना भएको बताए । महर्जनले नेपाल समाचारपत्रलाई भने– ‘खेल्दाचाहिँ यसरी नै टाढा रहेर खेल्दैनन् । मेरो विचारमा सबै परीक्षण गरिसकेर नै खेल्न आउने हुन् । यो चाहिँ सम्भव छ कि खेलाडीले नै एकअर्कालाई शंका गर्न सक्नेछन् ।’

यस्तै गोल गरेपछि स्कोररलाई साथी खेलाडीहरुले अंकमाल गरेर खुसी मनाउने चलन छ । अब यसमा पनि सुधार हुनेछ । यदि गोल भएमा जहाँजहाँ छ त्यहींबाट खेलाडीले खुसी मनाउनेछन् । दर्शक पनि त्यत्ति नहुने हुँदा गोल गर्नेको खुसीयाली साधारणसमेत हुन सक्नेछ ।

मैदानमा झगडा पनि कम हुने सक्नेछ । गत वर्ष नेपालमा भएको ए डिभिजन लिगअन्तर्गत मनाङ र मछिन्द्रबीच खेलपछि झगडा भएको थियो । सायद अब झगडा गर्दा पनि सामाजिक दूरी बनाएर गर्न सक्नेछ । पानी पिउने बोटल पनि हरेक खेलाडीको लागि छुट्टाछुट्टै राख्नुपर्ने हुन्छ । पहिलेजस्तो एउटै बोटल सबै खेलाडीले सेयर गर्न अहिले अवस्था छैन ।

यस्तै फिफाले मैदानमा थुक्न नपाइने नियम बनाएको छ । फिफाको यो नियमपछि मैदानमा थुक्ने बानी परेका खेलाडीलाई गाह्रो हुन सक्छ । यदि कोही खेलाडीले थुकेको देखाएमा सजायस्वरुप पहेंलो कार्ड देखाउने नयाँ नियम बनाएको छ । अब खेलाडीले सावधानी अपनाएमा उनीहरुको बानी पनि सप्रिनेछ ।

दर्शकदीर्घातर्फ पनि सामाजिक दूरी कायमै राखिनेछ । दुई सिटको फरकमा दर्शक बस्नुपर्ने हुन्छ । हालको लागि सीमित दर्शकका लागि मात्रै रंगशाला खोल्न सकिन्छ या विनादर्शक खेल हुन सक्छ ।

खेलको प्रत्यक्ष प्रसारणमै बढी ध्यानकेन्द्रित हुनेछ, घरमै बसेर दर्शकले खेलको मजा लिन सक्नेछन् । तर एउटा कुराचाहिँ खेल भने पहिले जस्तो मिठास हुने छैन, किनभने रंगशालामा आ–आफ्ना क्लबका समर्थक कम हुन्छन् । समर्थकले गीत गाएर कराएर समर्थन गरिरहने त्यो मजा केही समयसम्म हुनेछैन ।

महर्जनले पनि यसमा स्वीकार गर्दै बताए– ‘कोरोनाले गर्दा फुटबलको चार्म घट्ने पक्का छ । पहिलो जस्तो उल्लासमय वातावरण आउन अलि गाह्रै हुन्छ । एक त दर्शक कम हुनेछन्, दर्शकले गर्दा नै फुटबल खेलमा फुटबलमय वातावरण बनेको हुन्छ । तर केही समयसम्म फुटबलको रमाइलो क्षण हुने छैन ।’