बेल्ग्रेड, एजेन्सी।
आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप आगामी वर्ष सर्बियाको राजधानी बेल्ग्रेडमा सारिएको छ। यसै वर्ष भारतले गर्ने तय भएको उक्त प्रतियोगिता हुन नसक्ने भएपछि बेल्ग्रेडमा २०२१ को २८ अप्रिलमा गर्ने गरी नयाँ मिति घोषणा गरिएको हो।
नयाँ मिति र स्थान घोषणासँगै भारतले भने आयोजनाका लागि निर्धारण गरिएका शर्तहरु पूरा गर्न नसकेकाले नियमअनुसार जरिवाना तिर्नुपर्ने भएका छन्। यसअघि भारतको नयाँ दिल्लीले उक्त प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको थियो। आइबाका कार्यकारी अध्यक्ष मोहमद मउस्टाहसानेले सर्बियालाई यो प्रतियोगिता आयोजना गर्न पाउनु ठूलो अवसर भएको बताए।
उनले भने,-“सर्वप्रथम त बक्सिङको यस्तो प्रतियोगिता आगामी वर्ष आयोजना हुने निर्णय गर्न पाउँदा हामीलाई खुसी लागेको छ। मलाई विश्वास छ यो प्रतियोगिता बेल्ग्रेडले आयोजना गर्न पाउनु सर्वियाको लागि गर्वको विषय हो। हामी आशा गरौं, भर्खरै तोकिएको नयाँ मितिसम्म कोरोना महामारीको पनि अन्त्य भइसक्नेछ।”
त्यसैगरी सर्वियन बक्सिङ फेडेरेसनका अध्यक्ष नेनाड बोरोडकाबिनले पनि बक्सिङको ठूलो प्रतियोगिता ४३ वर्षपछि बेल्ग्रेड फर्केको बताए। उनले भने,-“सन् १९७८ मा तत्कालीन युगोस्लाभियाको अस्तित्व रहँदा पहिलो पटक यस भूमिका ठूलो प्रतियोगिता आयोजना भएको थियो। आगामी वर्ष बेल्ग्रेडमा हुने यो च्याम्पियनसिप हाम्रो लागि बक्सिङको दोस्रो प्रतिष्ठित प्रतियोगिता हुनेछ।”
प्रतिक्रिया