भ्याट बुझाउने समय थप


काठमाडौं, (नेस)

अर्थ मन्त्रालयले मूल्य अभिबृद्धि कर (भ्याट) बुझाउने समयलाई एक महिना थप गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन जारी रहने हुँदा फागुन र चैत महिनाको बुझाउनुपर्ने भ्याटलाई जेठ २५ गतेसम्म बुझाउँदा हुने व्यवस्था गर्न लागेको हो ।

मन्त्रिपरिषद्को बैठकले लकडाउन बढाएपछि भ्याट बुझाउने समयलाई एक महिना थप गर्ने तयारी भएको अर्थ मन्त्रालयले जनाएको छ ।

नियमअनुसार महिना समाप्त भएको २५ दिनभित्र भ्याट बुझाउनुपर्छ । सरकारले यसअघि नै चैतमा २५ गते बुझाउने भ्याटको सिमालाई बैशाख २५ सम्म सारेको थियो । यो अवधिमा पनि लकडाउन नखुलेको हुँदा भ्याट बुझाउने समयलाई एक महिना पछाडि सार्ने भएको हो ।

यस बाहेक सरकारलाई बुझाउनुपर्ने कर पनि जेठ महिनामा बुझाउँदा हुने व्यवस्था अर्थ मन्त्रालयले गर्ने छ । अर्थ मन्त्रालयले सरकारले ल्याउने आर्थिक प्याकेजको घोषणा भने बजेटमार्फत गर्ने तयारी गरेको छ । संविधान अनुसार जेठ १५ गतेमा बजेट ल्याउनुपर्छ । अर्थ मन्त्रालय अहिले बजेट निर्माणको तयारीमा रहेको छ ।