एकै दिनमा पाँच सय बढी भित्रिए


न्युज अफ नेपाल, पर्वत ।

संक्रमण फैलिने त्रास, ब्यबस्थापन गर्न कठिन नेपाल समाचारपत्र पर्वत जिल्ला प्रशासन कार्यालय पर्वतले बैषाख ११ गते सुचना सार्वजनिक गर्दै जिल्लामा केही दिन यता बाहिर जिल्लाबाट मानिसहरु आउने क्रम बढेको भन्दै यसलाई कडाईका साथ रोक लगाउन आग्रह ग¥यो ।

यति मात्रै होइन जिल्ला भित्रै एउटा पालिकाबाट अर्को पालिकामा समेत आवत जावतमा रोक लगाउँदै आफ्नो वडामा भित्रनेहरुको रेकर्ड राख्न र अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने ब्यबस्था मिलाउन सबै पालिकाहरुलाई अनुरोध गर्यो । जिल्ला प्रशासनले जिल्ला भित्रने सबैलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्न अनुरोध गरेपछि स्थानिय तहले पनि सबैलाई आफनै ठाउँमा सुरक्षित बस्न भनेर त्यही सुचना शेयर गरे ।

आफ्नो पालिकमा आउने नयाँ मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राखिने स्थानिय तहले सार्वजनिक सुचना नै जारी गरे । जिल्ला प्रशासन तथा स्थानिय तहको आग्रह र अनुरोध बिपरित काठमाण्डौबाट दिन यता सयौ मानिस जिल्ला आएका छन । स्थानीय तहले रोक लगाउने भनिएपनि राजनैतिक दलका नेता र जनप्रतिनिधीको पहलमा काठमाण्ण्डौबाट बस रिर्जभ गरेर धमाधम जिल्ला पठाउने काम भैरहेको छ ।

आइतबार बिहान मात्रै पर्वतका लागि ८ वटा बसमा मानिसहरु ओसारिएको छ । कम्तीमा ५ सय मानिस शनिबार मात्रै भित्रिएको अनुमान सुरक्षा निकायले गरेका छन । काठमाण्डौमा अप्ठेरोमा परेकालाई जिल्ला फर्कन चाहेको भन्दै सामाजिक सञ्जालमा सुचना नै राखेर तथा इच्छुकहरुलाई फारम भरेर जिल्ला पठाइएको छ । अध्ययन गर्ने बिद्यार्थी देखि काठमाण्डौमा पेशा ब्यबसाय गर्ने र काठमाण्डौमा घर नै भएकाहरु समेत यसरी जिल्ला पठाइएको छ।

प्रतिनिधीसभाका सदस्य पदम गिरीको अनुरोधमा नेकपाको पर्वत काठमाण्डौ सम्पर्क मञ्चले शनिबार साँझ ४ वटा बसमा अप्ठेरोमा परेकालाई घर पठाएको छ । साँसद गिरीले भन्दा पहिले नै संबिधानसभाका सदस्य अर्जुनप्रसाद जोशीको अनुरोधमा नेपाली कांग्रेसको सम्पर्क समितिले दुई दिन पहिले देखि बागलुङ्ग जाने बसहरुमा मानिस पठाउन थालिसकेका थिए ।

आइतबार नेपाली कांग्रेसका कार्यकर्ताहरुले पर्वत र बागलुङ्गका लागि ६ वटा बसमा मानिस पठाउने काम गरे । आइतबार पनि ३ वटा बस तयार रहेको सुचना सामाजिक सञ्जालमा राखिरहेका छन । लक डाउन पुर्वकै अबस्थामा पर्वत शुरुमा पर्वतबाट काठमाण्डौमा बिभिन्न पेशा ब्यबसाय गरि बस्नेहरुले एउटा साझा फोरम निर्माण गरि समस्यामा परेकालाई सहयोग गर्न थालेको थियो ।

केही समस्यामा परेका बिद्यार्थी र मजदुरलाई खाद्यान्ंन पनि बितरण गरेको थियो । यसरी समस्यमा परेकालाई काठमाण्डौमा स्वयमसेवी ढंगले सेवा गर्दा नै कोरोनाको संकट संग जुध्न सफल हुनेमा राजनैतिक दाउपेचका कारण मानिसलाई जिल्ला पठाउँदा संक्रामण बढ्ने चिन्ता सर्वत्र छ ।

काठमाण्डौमा घरमा नै बसेका र एक महिना सम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएका कारण संक्रमण नफैलने र समस्यामा परेकालाई घर पु¥याएर संकटको साथी बनेको मुल्याँकन काठमाण्डौबाट पठाउनेहरुको देखिन्छ तर जिल्लाबासीहरु भने आएकालाई क्वारेन्टाईनमा राख्दा पनि समस्या र नराख्दा पनि घरमा रहेका बुढाबुढी केटाकेटीहरुमा संक्रमण फैलिएमा त्यसले ठुलो मुल्य चुकाउनु पर्ने भनेर चिन्तामा छन ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पनि सबै जनप्रनिनिधी र पालिकाका प्रमुख संग सल्लाह गरेरै ११ गतेको बिज्ञप्ती प्रकाशन गरेकी थिइन । प्रतिनिधीसभा सदस्य पदम गिरी देखि संबिधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पनि आफ्नो काठमाण्डौबाट मानिस पठाउने कार्यक्रम नरहेको बताउँदै आएका छन प्रशासन संग ।

नगरपालिका र गाउँपालिकाका प्रमुखहरु पनि आएकालाई अनिवार्य रुपमा क्वारेन्टाईनमा नै राख्ने र सोध्नेलाई नपठाउन नै जवाफ दिदै आएका छन । तर स्थानिय प्रशासन र पालिका प्रमुखहरुको सहमति बेगर नै काठमाण्डौबाट मानिस पठाइयो वा मौन समर्थन थियो भन्ने कुरा अझै अन्यौलमा नै छ । तर धमाधम सयौ मानिस काठमाण्डौबाट पठाउँदा एक महिना सम्म कडाई गरेर लक डाउन पालना गराउनुको मतलब शुन्यमा झरेको छ ।

‘एक महिनाको मेहनत शुन्यमा झरेको छ, हामीले मात्रै कडा गरेर भएन, जनप्रतिनिधीले नै लक डाउनको खिल्ली उडाउने काम भयो’ जिल्लाका एक जना सुरक्षा प्रमुख गुनासो गर्छन ‘संवेदनशीलतामा राजनिती गर्दा धेरैको ज्यान जोखिममा छ ।’ फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा पनि काठमाण्डौमा समस्यमा भएकालाई त्यही ब्यबस्थापन गर्दा नै अहिलेको अबस्थामा सहज हुने थियो भन्ने निष्र्कषमा छन ।

जर्वजस्ती मानिस पठाएपछि सबैलाई क्वारेन्टाईनमा राख्दा पनि समस्या छ होम क्वारेन्टाईनमा पनि अनुशासित रुपमा बस्ने संभावना कम छ । वडा अध्यक्ष र जनप्रनितिधी टोल समितिले यस अघि बिदेशबाट फर्केको बिबरण संकलन गरि होम क्वारेन्टाईनमा राखे जस्तै एक पटक मेहनत गर्नुपर्ने दिन आएको छ । पर्वत अस्पतालका बिशेषज्ञ डाक्टर बिष्णु भण्डारी पनि अब होम क्वारेन्टाईनमा बस्ने बाहेक अन्य बिकल्प नभएको बताउँछन ।

गाउँमा आएकालाई २१ दिन सम्म घरमा नै बस्नका लागि प्रेरित गर्ने, स्वास्थ्य संस्थामा नजाने, वरपर घुम्न नदिने र घरमै सुरक्षित बस्ने वातावरण बनाउनुपर्ने डा. भण्डारीको सुझाब छ । गाउँमा स्वास्थ्यकर्मी समेत संक्रमित हुने जोखिम बढेको कारण सानो तिनो समस्यामा स्वास्थ्य संस्था नजान उनको आगह छ ।