वीरगन्जमा भेटिए कोरोनाभाइरस संक्रमित, कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुग्यो


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाईरसको संक्रमणका कारण नेपालको उदयपुर र वीरगञ्ज निकै चपेटामा परेको छ । आज पनि वीरगञ्जमा थप २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा पुष्टि भएको छ । २ जना थपिँदा संक्रमितको संख्या ५१ पुगेको छ ।

वीरगञ्जको छपकैयाँको मस्दिजमा बस्दै आएका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण भएसँगै वीरगञ्जमा कोरोना देखा परेको थियो । तीनै भारतीय नागरिकहरुसँगको सम्पर्कमा आएका दुईजनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो । ट्रेसिङ गर्दा सम्पर्कमा आएकाहरु मध्ये संक्रमित दुई जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले आईतबार जारी गर्नुभएको विज्ञप्तिमा प्रदेश दुईमा कोरोना संक्रतिमको संख्या आज सम्म गरि ७ पुगेको उल्लेख गर्नुभएको छ ।

संक्रमित दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । एकजना वीरगंज महानगरपालिका वडा नम्बर ३ का सरसफाईमा कार्यरत कर्मचारी रहेका अर्का व्यक्ति वीरगंज महाननगरपालिका वडा नम्बर १६ का भएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जानकारी दिनुभएको छ । संक्रमण पुष्टि भएका वडा भने अहिले सिल्ड गरएको छ ।

संक्रमित दुबै जना ५० वर्षका पुरुषहरु भएको मन्त्रालयले जनाएको छ । उनीहरु आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । विभिन्न जिल्लामा रहेका ५१ संक्रमित मध्ये १२ निको भएर घर फर्किसकेका छन् । वीरगञ्जमा यसअघि संक्रमण पुष्टि भएको तीन जनापनि आजै डिस्चार्ज हुँदै छन् ।