हास्य कलाकारले घर–घरमै बसेर तयार पारे लकडाउन


सिर्जनालाई जुनसुकै आपत्–विपत्ले पनि रोक्न सक्दैन। यसको ज्वलन्त उदाहरण बनेको छ हास्य कलाकारहरूले निर्माण गरेको एउटा भिडियो सामग्री।
हास्य कलाकारको यो समूहले एक–अर्कासँग भेटघाट नै नगरी, घरबाटै ननिस्की घर–घरमै बसेर एउटा छोटो फिल्म तयार पारेको छ।

त्यो छोटो फिल्मलाई नाम दिइएको छ– लकडाउन। हास्य कलाकार तथा वन म्यान शोमा नाम कमाएका कलाकार सन्दीप क्षत्रीले होम क्वारेन्टाइनमै बसेर आप्mनो अगुवाइमा यो सट फिल्म तयार पारेका हुन्। उनले घरमै बसेर नै विभिन्न कलाकारलाई अभिनय गराई छोटो फिल्म तयार पारेका हुन्।

फिल्म कोरोना संक्रमणको जोखिम, यसबाट बच्ने उपायमा केन्द्रित छ। फिल्ममा ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, सञ्जय श्रेष्ठ, सन्दीप क्षत्रीलगायतले अभिनय गरेका छन्।

सन्दीपले यो छोटो फिल्ममा देखिएका सबै कलाकारलाई उनीहरूको भूमिका र संवाद तयार पारेर उपयोगी सामग्रीका रूपमा लकडाउन तयार पारेका छन्। कलाकारहरूले सन्दीपबाट पाएको भूमिका र संवाद रेकर्ड गराएर उनलाई उपलब्ध गराएपछि यो लकडाउन उपयोगी र दर्शनीय सामग्रीका रूपमा तयार भएको हो।

सन्दीपको लेखनमा तयार भएको फिल्म करिब १० मिनेटको छ। १० मिनेटको फिल्ममा सबैको भूमिका छोटो–छोटो छ। तर, रमाइलो कुरा के छ भने यति छोटो फिल्ममा पनि झन्डै एक दर्जन कलाकारलाई देख्न पाइन्छ। लकडाउनका कारण छटपाएर अनेकन बहाना गरी बाहिर निस्कन खोज्ने एउटा युवाको कथा बेरिएको छोटो फिल्म सन्देशमूलक पनि छ।

यो छोटो फिल्म ‘अहिलेको समयमा सामाजिक दूरी कायम राखौं, भावनात्मक होइन’ भन्ने सन्देशका साथ शुरू र अन्त्य हुन्छ। फिल्म सन्दीप क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। यसलाई अहिलेसम्म २२ हजार जना बढीले हेरेका छन्।