बस्तीमै पुगेर आर्थिक सहयोग

0
Shares

देशमा जस्तोसुकै विपत्ति आइलागोस्, सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सहयोगको हात लिएर साथ दिन अगाडि बढिहाल्छन्। त्यो पनि वास्तविक पीडितलाई सहयोग गर्न।

यसै क्रममा यो दम्पतीले कोरोना संक्रमणको जोखिमका कारण लगाइएको लकडाउनले दैनिकी चलाउन असक्षमहरूलाई सहयोग गरेका छन्। यसै क्रममा सीताराम र कुञ्जनाले आप्mनो धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत विभिन्न जिल्लाबाट काठमाडौं र ललितपुर आई बसोबास गरिरहेका ज्याला मजदुरी गर्ने तथा दीर्घ रोगीहरूसँग जुधिरहेकालाई आर्थिक सहयोग गरेका छन्।

उनीहरूले मजदुर, मुटु, मिर्गौला, दम रोगी, असहाय, अशक्त तथा विद्यार्थीसहित ४३ परिवारलाई उनीहरूको आर्थिक समस्याको स्थितिअनुसार उनीहरूकै बसोबासस्थलमा पुगेर कुल १ लाख ३५ हजार रुपियाँ सयोग गरेका छन्।

यसअघि सीताराम र कुञ्जनाले स्थानीय निकायसँग समन्वय गरी फाउन्डेसनको तर्फबाट लकडाउनका कारण १ महिनादेखि ललितपुरमा अलपत्र अवस्थामा रहँदै आएका दाङका श्रमजीवीलाई घर पठाउने व्यवस्था गरेका थिए। फाउन्डेसनका तर्फबाट यो दम्पतीले २ बस रिजर्भ गरी ललितपुरका विभिन्न स्थानमा बस्दै आएकालाई दाङ पठाएको थियो।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजरमा राखी सरकारले लकडाउन घोषणा गर्नुअगावै चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यलाई स्थगित गरेको सीताराम र कुञ्जनाको दम्पतीले फाउन्डेसनकै तर्फबाट त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि सहयोग गरेका थिए। उनीहरूले फाउन्डेसनका तर्फबाट २ सय विद्यार्थीका लागि २ सय बोरा चामल, ६ सय केजी दाल, २ सय लिटर तेल, २ सय प्याकेट नुन र २ सय कार्टुन बिस्कुट सहयोग गरेका थिए।