नृत्य कलाकारलाई खाद्यान्न राहत


कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन महिना दिनदेखि जारी लकडाउनले दैनिक नृत्य गरेर गुजारा चलाउने नृत्य कलाकारहरूलाई राहत प्रदान गरिएको छ।

नेपाल चलचित्र कलाकार संघको समन्वय तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका नेपाल नृत्य संघका करिब ७० जना सदस्य नृत्यकारहरूलाई राहत प्रदान गरिएको हो।

उनीहरूलाई अनामनगरमा आयोजित भेलाका बीच राहत प्रदान गरिएको हो। नेपाल नृत्य संघका कार्यवाहक अध्यक्ष जनक कार्कीको अनुरोधमा खाद्यान्न राहत प्रदान गरिएको नेपाल चलचित्र कलाकार संघले जनाएको छ।

नेपाल शाकाहारी पार्टीका अध्यक्ष राधेश्याम खड्का र चलचित्र विकास बोर्डका पूर्वसदस्य राजेन्द्र केसी (राजु) को सहयोग तथा जमिनकी अध्यक्ष विद्या बज्राचार्य र कोषाध्यक्ष महात्मा पराजुलीलगायतको सक्रियतामा राहत सामग्री जुटाएर नृत्य कलाकार र प्राविधिकलाई प्रदान गरिएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेपाल चलचित्र कलाकार संघ फिल्मकर्मीको पेसागत संघ–संगठनमध्ये सबैभन्दा जेष्ठ संघ भएको दाबी गर्दै संघका अध्यक्ष रवीन्द्र खड्काले संघले सम्पूर्ण विधामा काम गर्ने कलाकार तथा फिल्मकर्मीको जस्तोसुकै समस्यामा हातेमालो गर्ने बताए।