म्याराथन स्थगितले असर गरेको छैन: बेकेल

0
Shares

लन्डन, (एजेन्सी)

कीर्तिमानी धावक केनेनिसा बेकेलले यसै आइतबार लन्डन म्याराथनको ४०औं संस्करण स्थगित भए पनि आफूलाई असर नगरेको बताएका छन् ।
बेकेलले मार्च १ मा लन्डन बिग हाफ जितेका थिए । उनले नयाँ कीर्तिमानी समय १ घण्टा २२ सेकेन्डमा पूरा गरेका थिए । तर कोरोनाका कारण लन्डन म्याराथन यसै अप्रिलमा नहुने भने पनि उनलाई धैरै असर परेको छैन । विश्वव्यापी कोरोना भाइरसको संकटबाट मानिसहरु धेरै कमजोर भइसकेकाले दौड नहुनु ठूलो विषय नभएको कारण दर्साएका थिए ।

बेकेलले बताए– ‘भविष्य बारे म चिन्तित छु, हामीहरु इथियोपियामा लकडाउन भएका छौं तर भित्र बस्नु भनेको विलासिता हो जुन धेरैले लिन सक्दैनन् । म विश्वास गर्छु कि हामी यस आँधीबेहरीबाट बच्नेछौं । मानवताले यसभन्दा पहिले पनि धेरै विपत्तिहरु पार गरिसकेको छ, तर यो सजिलो पनि छैन ।’
इथियोपिया पनि कोरोनाको प्रहारले बच्न नसकेको देश हो ।

हाल यो पूर्वी अफ्रिकी देशमा १ सय १६ जना कोरोना भाइरस संक्रमित पाइएको छ । यो धेरै पनि भएको बेकेलले बताए । इथियोपियाका सर्वाधिक सफल खेलाडीमध्येका उनले तीनपटक ओलम्पिकमा १० हजार मिटरमा दुई र ५ हजार मिटरमा एक गरी तीन स्वर्ण पदक जितेका छन् । दुवैमा उनले विश्व कीर्तिमान राखेका छन् ।

बेकेलले सुसुल्टामास्थित उनको होटल कोरोना भाइरसका बिरामीलाई राख्न दिएका छन् । उनले बताए– ‘म आशा गर्छु कि मान्छेले मेरो होटलका कोठा प्रयोग गर्न सकून्, त्यहाँ खाली कोठा छन् । यो अत्यन्त संक्रामक र अझै पनि रहस्यमय भाइरस जसले स्वास्थ्य र मानिसहरूको जीवनलाई ठूलो हानि पु¥याइरहेकाले मद्दत गर्न मेरो लागतमा उनीहरूलाई प्रस्ताव गर्न चाहन्छु ।’

बेकेलले विश्वव्यापी द्रुत रूपमा बढ्दै र सबै ठाउँमा दबाब बढ्दै जाँदा सबैले एकअर्काको पक्षमा उभिन आवश्यक रहेको बताए । ‘मेरो परिवार र म सहयोग गर्ने स्थितिमा छौं । हामीले जिम्मेवारी लिनुपर्छ’, उनी तर्क गर्दछन्– ‘यो स्पष्ट छ कि यो विश्वव्यापी समस्या हो र संसार एउटा गाउँ हो । हामी सबै मानव हौं जुन संक्रामक रोगका लागि पनि समान रूपमा कमजोर छौं ।’

बेकेल संसारभरका खेलाडीको बढ्दो सूचीमा सामेल भएका छन्, जसले कोरोना भाइरस महामारीविरूद्ध मद्दतका लागि उपायहरू दिइरहेका छन् । ‘हामीले केही फिर्ता दिनुपर्दछ र म जिम्मेवार भएको छु’, उनी भन्छन्– ‘हाम्रा वरिपरिका मानिसलाई दान र समर्थन गर्नुहोस् जब तपाईं सक्नुहुन्छ, तर यी कठिन समयमा तिनीहरूलाई नैतिक प्रोत्साहन दिनुहोस् । भाइरसको कारण १.५ मिटरको दूरी पनि बनाउनुहोस, साबुनपानीले हात धुनुस् ।’

इथियोपियाले चार जना व्यक्तिभन्दा बढी समूहगत रहनबाट वञ्चित गरेको छ । आपत्कालीन घोषणा भएको सो देशमा बेकेलले अभ्यास गर्न कठिन भएको बताए । उनी एक्लै एड्डिस अबाबामा आफ्नो घर नजिकै रहेको जंगलमा एक्लै अभ्यास गरिरहेका छन् । उनी रंगशालाको ट्र्याकमा गएर अभ्यास गर्न नसक्ने पनि बताउँछन् ।

बेकेलले जंगलमा बिहान २०–२५ किलोमिटर दौडेर शरीरलाई स्वास्थ राख्न कोसिस गरेको बताए । उनी लन्डन म्याराथन अक्टोबर ४ मा हुनेमा विश्वस्त भएका छन् । उनले दौड्ने नै उनको जीवन भएको भन्दै बताए– ‘दौडने नै मेरो जीवन हो र यसले मलाई सबै चीज दिएको छ ।’