एक–अर्कालाई नभेटी तयार पारियो बुहारी



कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबै जनाले आ–आफ्नै घरबाट काम गरी सन्देशमूूलक लघु फिल्म बुहारी तयार पारिएको छ। यसरी कोही पनि नभेटिकनै नेपालमा बनेको यो नै पहिलो लघु फिल्म भएको दाबी गरिएको छ।

बुहारीमा शिरोमणि दवाडी, संगीता बस्याल, सुदर्शन आचार्य, विमला लम्साल, बियान थपलिया, शान्ति महर्जन, मुस्कान वाग्ले, कमला बस्नेत र बालकलाकार रिम्सा कार्कीले अभिनय गरेका छन्।

अहिले पनि कतिपय ठाउँमा घरको काम बुहारीले मात्र गर्नुपर्ने सन्दर्भ लघु फिल्म बुहारीमा देखाइएको छ। सबैजना घरमा भए पनि बुहारीले मात्र काम गर्नुपर्ने अवस्था अझै छ भन्ने देखाउन बुहारी निर्माण गरिएको निर्देशक पुरुषोत्तम बस्नेतले बताए।

आफूले बुहारीलाई धेरै काम लगाउँदा आफ्नो छोरी पनि अन्त बुहारी भएर गएकी छ भन्ने कुरा बुझ्नुपर्छ भन्ने सांकेतिक सन्देश लघु फिल्मले दिने उनले बताए। लकडाउनको समयमा कतिपय काम नभेटेरै पनि गर्न सकिने निर्देशक बस्नेतको भनाइ छ।

अनिल कुमार महर्जनको सम्पादन रहेको बुहारीको कास्टिङ डाइरेक्ट वसन्त अधिकारी हुन्। नेसन मिडिया ग्रुप प्रालिद्वारा निर्मित यो लघु फिल्म नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्