राज्यप्रति नागरिकको भरोसा



नेपालीको नियतीमा नयाँ वर्ष घरमै बन्दाबन्दी अवस्थामा बसेर बिताउन जु¥यो । शुभकामना आदानप्रदान गर्ने क्रममा प्रायः सबैले विश्वव्यापी कोरोना भाइरसको त्रासबाट मुक्ति मिलोस् भन्ने कामना गरेका छन्। आ–आफ्नो धार्मिक आस्थाअनुसार प्रार्थना गरेर मन बुझाएका छन् । लकडाउनको अवधि अझै बढ्ने पक्कापक्की छ।

मध्यमवर्गका मानिसहरूको समेत जनजीवन कष्टकर बनिसेकेको छ भने श्रमिक, ज्यालादारी, मजदुरी गर्नेहरूको कष्ट त अकथनीय छ । कोरोनाको असर समाज, अर्थतन्त्र, संस्कृतिमा परिरहेको छ । अहिले विश्वका विभिन्न देशहरूसँगै नेपाल कोरोनाको महामारीसँग जुधिरहेको छ । यस्तो बेला सरकार महामारीसँग जुध्ने, परीक्षणको दायरा बढाउने र कष्टकर जीवन निर्वाह गर्ने आम नेपालीले सरकारप्रति ठूलो अपेक्षा गरेका छन् । यस अपेक्षालाई पूरा गर्न सरकारका लागि फलामको च्युरा चपाएसरह हुनेछ ।

विश्वका अन्य देशसँग नेपाल पनि अभूतपूर्व संकटको अवस्थामा गुज्ररिरहेको छ । यस्तो बेला सरकारको कामकारवाही बझ बढी चुस्त, दुरुस्त र प्रभावकारी हुनुपर्छ । कोरोनाको महामारीसँग जुध्न चीनबाट खरिद गरिएको करोडौं स्वास्थ्य सामग्री कमसल परेको, भ्रष्टाचारको गम्भीर आशंका सिर्जना भएको सरकारका लागि राम्रो होइन ।

अहिले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सरकारले नेपाली सेनालाई प्रदान गर्न बाध्य हुनुपरेको छ । सरकारले पहिला भएको भ्रष्टाचार लुकाउन सेनालाई जिम्मेवारी दिएको आशंका पनि केही व्यक्तिहरूले उठाएका छन् । यसले गर्दा सरकारप्रतिको नागरिककोे भरोसा र विश्वासलाई बढाउन उसले बढी मेहनत गर्नुपर्छ, पारदर्शितामा ध्यान दिनुपर्छ । संकटको घडीमा सरकारले हेर्छ, गर्दछ भन्ने आत्मविश्वास डगमगाउन दिनुहुन्न ।

उता, भारतमा लकडाउन नखुलेसम्म नेपालमा खुल्ने छाँटकाँट देखिन्न । लकडाउन लम्बिएसँगै नागरिक जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंबाट चार, पाँच दिन हिँडेर मानिसहरू आफ्नो घरतर्फ दिनहुँ गइरहेका छन् । काठमाडौंबाट सुनसरीसम्म पैदल जानेहरू छन् । सोलुखुम्बुको कुनै खोलाबाट कैलाली गइरहेका छन् । खान, बस्न कष्टकर हुँदै गएको लकडाउनको अवस्था कहिले सकिने भन्ने टुंगो नभएपछि पैदलै घरतिर हिँडिरहेका छन् ।

यस्तो अवस्थामा काठमाडौंबाट आफ्नो घर जान चाहने मानिसहरूलाई फर्काउने सरकारले गरेको निर्णय एक घण्टा पनि टिक्न सकेन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो आधिकारिक पेजमा समेत राखिसकेको निर्णय पछि निर्णय भएको छैन भनेर गृहमन्त्रालयले विज्ञप्ति प्रकाशित गर्न लगाइयो । भोक, प्यासको पर्वाह नगरी आफ्नो गन्तव्यतर्फ लागिरहेको सर्वसाधारणको पीडाले सरकारको मन छुनसकेन । सरकारले एक घण्टाको दौरानमा निर्णय परिर्वतन गरेर जनताको भावनामाथि खेलबाड गरेको देखियो ।

दुई तिहाइ बहुमतनजिक रहेको इतिहासकै सर्वाधिक अनुकूल रहेको सरकारलाई काम गर्न आखिर कसले रोकेको छ ? सरकारले यस बेला आलोचकहरूसँग मुखमुखै लाग्ने होइन, न त निजीक्षेत्रले नै सरकारले जेसुकै गरोस् भन्ने बेला हो । यो बेला सरकार र नागरिक एकाकार भएर कोरोनालाई पराजित गर्नुको विकल्प छैन । तर, यसका लागि सरकारले आफूलाई अझ बढी विश्वास गर्न लायक पात्रका रूपमा खरो उतार्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्