‘हाम्रा विद्यार्थीले नेपालका सबै क्षेत्र हाँकेर बसेका छन्’



सुनीता सिंह भाइस प्रिन्सिपल सिद्धार्थ वनस्थली इन्स्टिच्युट बालाजु, काठमाडौं
सिद्धार्थ वनस्थली भन्नेवित्तिकै एक ऐतिहासिक महत्व बोकेको विद्यालयका रूपमा सबैले स्मरण र सम्मान गर्छन् । सिद्धार्थ वनस्थली इन्स्टिच्युटले समग्र मुलुकको शैक्षिक विकास र उन्नयनमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ। विद्यालयको मनमोहक वातावरणले विद्यार्थीमा सिर्जनशीलता थपिने गर्छ भने समग्र वातावरण विद्यार्थीमैत्री रहँदै आएको छ। त्यसैले त अहिले पनि सिद्धार्थ वनस्थली इन्स्टिच्युट सबै विद्यार्थी र अभिभावकका लागि प्रिय छ। विद्यालयका हालका प्राचार्य (प्रिन्सिपल) रूपक राजवंशी, उपप्राचार्य (भाइस प्रिन्सिपल) सुनीता सिंह लगायत व्यवस्थापन परिवारको कुशल व्यवस्थापन र अहोरात्रको मिहिनेतले सिद्धार्थ वनस्थलीले आफ्नो पुरानो छवि र प्रतिष्ठा यथावत् राख्न सफल हुँदै आएको छ । लगातारको खटाइ र मिहिनेत तथा नवीन योजना दिनसक्ने क्षमताका कारण विद्यालय व्यवस्थापनले भर्खरै मात्रै सुनीता सिंहलाई भाइस प्रिन्सिपलको जिम्मेवारी दिएको हो ।
यसै सन्दर्भमा सिद्धार्थ वनस्थली इन्स्टिच्युटको  शैक्षिक अवस्था, नयाँ योजना र भोग्नुपरेका समस्या लगायतका विषयमा केन्द्रित रही भाइस प्रिन्सिपल सिंहसँग नेपाल समाचारपत्रले गरेको कुराकानीको सारसंक्षेप :
ऐतिहासिक महत्व बोकेको सिद्धार्थ वनस्थली स्कुलको हालको अवस्था के–कस्तो छ ?
यहाँले नै भन्नुभयो सिद्धार्थ वनस्थली एउटा ऐतिहासिक महत्व बोकेको विद्यालय हो । त्यसैले सिद्धार्थ वनस्थली पहिला जे–जस्तो थियो अहिले पनि आफ्नो पुरानो अस्तित्व कायम नै राख्न सफल छ । अहिले पनि जनमानसमा लोकप्रियता उस्तै नै छ । यसले हाल पनि राष्ट्रकै एक अब्बल गुणस्तरीय शिक्षा दिने विद्यालयका रूपमा आफूलाई कायम राख्न सफल हुँदै आइरहेको छ । यो हामी सबैको लागि खुसी र गौरवको कुरा हो ।
यो विद्यालय देशभरमा नै सुपरिचित छ । यसले आफ्नो इतिहास जोगाइराख्न के–कस्ता नयाँ योजना र कार्यक्रम ल्याइरहेको छ ?
यस विद्यालयको इतिहास जोगाइराख्न हामी जहिले पनि प्रयत्नरत छौं । शैक्षिक गुणस्तर बढाउन समयसापेक्ष परिवर्तन गरिरहेका हुन्छौं । विद्यार्थीलाई नयाँ–नयाँ प्रविधि प्रयोग गरी शिक्षा दिन्छौं । साथै विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई प्रयोगात्मक क्रियाकलापमा पनि बढी ध्यान दिन्छौं । विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउँछौं जसले गर्दा विद्यार्थीमा भएको लुकेका प्रतिभाहरूलाई प्रस्फुटन गराउन मद्दत गर्दछ । त्यसैले समयको माग अनुसार हामी पनि नवीन किसिमले अघि बढिरहेका छौं । विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न पनि आवश्यकता अनुसार नियमित कार्यक्रम ल्याइरहेका छौं ।
हाल विद्यालयको शैक्षिक गुणस्तर कस्तो छ ?
हामी शैक्षिक गुणस्तरमा कहिले पनि सम्झौता गर्दैनौं ।  हाम्रो मुख्य धेय नै शैक्षिक गुणस्तर अब्बल कायम गर्ने हो । त्यसैले पनि हाम्रो शैक्षिक गुणस्तरमा कहिले कमि आएको छैन । हामी हाम्रो पुरानो प्रतिष्ठालाई कायम राखेर नै अगाडि बढिरहेका छौं । यो नै सिद्धार्थ वनस्थलीको विशेषता हो ।
विद्यालयमा पठनपाठनको वातावरणलाई के–कसरी विद्यार्थीमैत्री र प्रिय बनाइरहनुभएको छ ?
यस विद्यालयमा प्रवेश गरेदेखि नै एउटा सकारात्मक वातावरण देख्नुहुन्छ । शिक्षक तथा कर्मचारीहरू विद्यार्थीसँग मित्रवत् व्यवहार गर्नुहुन्छ । जसले गर्दा विद्यार्थी आफूलाई सधैं पारिवारिक वातावरणमा रहेर शिक्षा हासिल गरेको महशुस गर्छन् । विद्यार्थीको मनोविज्ञानलाई समेत बुझेर आवश्यक कदम चाल्ने गरेका छौं । त्यसैले सबै विद्यार्थी खुसीका साथ अध्ययनमा रमाइरहने वातावरण रहेको छ ।
विद्यालयमा विद्यार्थीलाई के–कस्तो सुविधा दिइरहनुभएको छ ?
अहिलेका विद्यार्थी डिजिटल ‘लर्नर्स’ हुन् । त्यसैले हामीले पनि विद्यार्थीलाई प्रविधि प्रयोग गरेर सिकाउने गर्छौैं । विद्यार्थीको इच्छाअनुसार विभिन्न अतिरिक्त कक्षाहरू सञ्चालन गर्दै आएका छौं । जस्तै डान्स, चित्रकला, कराँते, बास्केट बल, फुटबल, योग आदि ।
जेहेन्दार विद्यार्थीलाई के–कस्तो सुविधा छ ?
जेहेन्दार विद्यार्थीलाई पूर्ण जेहेन्दार छात्रवृत्तिको व्यवस्था छ। हरेक वर्ष सबै कक्षाबाट प्रथम तीन स्थान प्राप्त गर्ने विद्यार्थीलाई जेहेन्दार छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौं । यस्तै, गरिब, अपांगता, पीछडिएका वर्गलाई पनि छात्रवृत्तिको व्यवस्था गरिएको छ।
अन्य विद्यालयसँग प्रतिस्पर्धी बनाउन के–कस्ता नवीन योजना र कार्यक्रम ल्याउनुभएको छ ?
अन्य विद्यालयसँग हामीलाई प्रतिस्पर्धा गर्नु नै छैन। हामी अरू विद्यालयले जस्तो राम्रो विद्यार्थी मात्र लिएर छानेर पढाउने गर्दैनौं । हामीले हरेक किसिमका विद्यार्थीलाई उसको क्षमताले भ्याएसम्म राम्रो बनाइदिने हो र हामीले त्यस्तै किसिमको वातावरण सिर्जना गर्छौं । हाम्रो विद्यालय सबै बालबालिकाले पढ्न पाउनुपर्छ भन्ने मान्यता राख्ने विद्यालय हो। समयअनुसार हामीले हाम्रो सिकाइलाई परिमार्जित गर्दै लैजाने गरेका छौं।  हामी अब  रोबोटिक्स, एआई कक्षाहरू तथा योग, ध्यानका कक्षा पनि नियमित सञ्चालन गर्दै छौं ।
विद्यालयले भोग्नुपरेको कुनै समस्या पनि छन् कि ?
समस्या धेरै छन् । शिक्षा देशको मेरुदण्ड हो जुन देशको मूल नीतिबाट नियमन हुनुपर्छ। शिक्षामा राजनीतिक हस्तक्षेप हुनुहुँदैन। यी कुरामा राज्यको ध्यान नपुग्दा अथवा शिक्षालाई प्राथमिकतामा नराख्दा विद्यालय सञ्चालन गर्न असहज छ। प्रशासनिक झन्झट धेरै छन् । कुनै पनि काम सिधा सजिलो तरिकाबाट नहुनु, समयअनुसार पाठ्यक्रम विकास नहुनु, शिक्षा ऐन नबन्नु जस्ता धेरै चुनौती छन् । योभन्दा बाहेक अहिले धेरै जनशक्ति विदेश पलायन भएकाले दक्ष शिक्षक पाउन नै मुस्किल छ।
यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीले कतिको सफलता हासिल गरेका छन् ?
हामी गर्वान्वित छौं कि हाम्रा विद्यार्थीले अहिले नेपालको लगभग सबै क्षेत्र हाँकेर बसेका छन् । मेडिकल, इन्जिनियरिङ, व्यापार, कलाकारिताको क्षेत्रदेखि राजनीतिसम्म । नेपालमा मात्र नभई विदेशमा पनि हाम्रा विद्यार्थीले राम्रो गरिरहेका छन् । यो नै हाम्रो गौरवको कुरा हो ।
सिद्धार्थ वनस्थली किन रोज्ने ? मुख्य विशेषता के–के हुन् ? 
सस्तो र गुणस्तरीय शिक्षा, शैक्षिक सबलता र स्थायीत्व, अनुभवी शिक्षक तथा शिक्षिका, विद्यालय, अभिभावक र विद्यार्थीबीच स्वस्थ र पारदर्शी सम्बन्ध, विद्यार्थीमैत्री वातावरण, नयाँ–नयाँ प्रविधिको प्रयोग यसका  मुख्य विशेषता हुन्। यस विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी ९९ प्रतिशत स्थायी छन् । जागिरको सुनिश्चितता पूर्णरूपमा छ यहाँ । तर, अन्य विद्यालयमा हेर्नुस्, कर्मचारीहरूको स्थायित्व त्यति देखिन्न ।
अभिभावकसँग सुमधुर अन्तरसम्बन्ध राख्न के–कस्ता कदमहरू चालिरहनुभएको छ ?
हामी हाम्रा अभिभावकहरूसँग नियमित भेटघाट गरिरहन्छौं र बालबालिकाका विविध विषयमा छलफल गर्ने गर्छौं ।
शैक्षिक क्षेत्र सुधारमा सरकारको वर्तमान नीति योजनालाई कसरी हेर्नुभएको छ र सुधारका लागि कुनै सुझाव ?
अहिले पनि शिक्षा सरकारको प्राथमिकतामा परेको छैन । शिक्षा नै देश विकासको एकमात्र सशक्त माध्यम भएको हुनाले शिक्षालाई केन्द्रीय सरकारबाट नै नियमन हुनुपर्छ । हरेक विद्यालयले शिक्षालाई राजनीति गर्ने एजेन्डा मात्र बनाउनु हुँदैन । हरेक विद्यालयको राम्रोसँग अनुगमन हुुनुपर्छ । सस्तोसँगै गुणस्तरलाई पनि ध्यान दिनुपर्छ । समयसापेक्ष ढङ्गबाट शैक्षिक योजना तर्जुमा गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्