एक्लो यात्रा



सरकारले कोरोना भाइरस (कोभिड–१९) को सामानाका लागि एक्लै हिँड्ने नीति लिएको देखिन्छ। यस विषयमा जनचेतना अभिवृद्धिका लागि आम सञ्चारमाध्यमलाई आ≈वान गर्नसम्म कञ्जुस्याइँ गरिरहेको छ। कोरोना भाइरस नेपालमा छिर्न नदिन र यसबारेमा सचेतना अपनाउन सरकारले केही कदम चालेको त छ, तर त्यसमध्ये केही समाचारका रूपमा मात्र सञ्चारमाध्यममा आएको पाइन्छ। यसले मात्र सर्वसाधारण जनताको चेतना जगाउनका लागि प्रभावकारी भूमिका खेल्न खासै सक्दैन।
सरकार एक्लैले कोरोना भाइरस नेपाल छिर्न नदिन चालेको कदम प्रभावकारी नहुन सक्छ। यसका लागि अन्य क्षेत्रको भूमिका पनि उल्लेख्यरूपमा हुन सक्छ। देशमा कुनै संकट आइपरेमा सरकार तथा अन्य क्षेत्र मिली कार्य गर्दा प्रभावकारी हुन्छ नै, त्यसमा पनि निजी क्षेत्र सर्वसाधारण जनताको प्रत्यक्ष सम्पर्कमा हुने भएकाले त्यस्तो क्षेत्रले संकटलाई अझ बढी नजिकबाट नियाली समस्यालाई हल गर्न सक्छ। कोरोना भाइरस नेपाल छिर्न नदिन र यसबारेमा सचेतना अपनाउन सरकारले पर्याप्त कदम नचालेको आरोप पनि लाग्दै आएको छ। यस्तो आरोप लाग्नुमा सरकार एक्लैको प्रयास अपुग भएका कारणले पनि हो।
विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरसका बारेमा सचेतना अपनाउन निजी क्षेत्र त्यसमा पनि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमसँग हातेमालो गर्न आवश्यक नठानेर हो वा नजानेर हो सरकारले खासै मतलव राखेको पाइँदैन। देशमा उल्लेख्य मात्रामा सञ्चारका माध्यम छन्। कुनै समस्यालाई उजागर गरी त्यसलाई समाधान गर्न आवश्यक भएमा यस्ता सञ्चारमाध्यमलाई प्रयोगमा ल्याउन सकेमा धेरै नै उपलब्धि हुनेमा शंका गर्नुपर्दैन। उल्लेख्यरूपमा प्रिन्ट मिडिया छन्, एफएमको कमी छैन।
अनलाइनहरू उत्तिकै सशक्त भएर लागिरहेका छन्। यस्तो अवस्थामा सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई नजरअन्दाज गर्नु हुँदैन। विश्वका १ सय २७ देशमा कोरोना भाइरस देखिइसकेको अवस्थामा नेपालमा यसको प्रभाव नदेखिनुलाई भाग्यका रूपमा नै हेरिनुपर्छ। यही अवस्था कायम राखिरहन अब सरकारले निजी क्षेत्रलाई पनि साथमा लिएर अगाडि बढ्दा धेरै नै फाइदा हुन्छ।
नागरिकको स्वास्थ्य सुरक्षा सरकारको पहिलो कर्तव्यमा पर्दछ। यसका लागि सरकारले बजेट छुट्याएर काम गर्नु आवश्यक छ। देशमा जम्मा भएको रकम यस्तै अवस्थामा खर्च गर्ने हो। देशलाई समस्याबाट मुक्त गराउन उचितरूपमा बजेटको सदुपयोग गर्न सकिएन भने त्यसको के अर्थ ? कोरोना भाइरसबाट बच्न के–कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल गर्न सरकारका जिम्मेवार निकायले निजी क्षेत्रका सञ्चारमाध्यमलाई आह्वान गर्न ढिला भइसकेको छ।
सरकार तथा निजी क्षेत्रका सञ्चारमाध्यमको हातेमालोबाट कोरोना भाइरस संक्रमण हुने बाटाहरू बन्द गर्न ठूलो योगदान पुग्नेमा कुनै आशंका छैन। त्यसो त, कोरोना भाइरसका सम्बन्धमा निजी क्षेत्रका सञ्चारमाध्यम चुप बसेको अवस्था होइन। सरकारलाई निजी क्षेत्रले केही समय मुलुक क्वारेनटाइनमा बस्नु आवश्यक छ भन्ने सुझाव दिइरहेको छ। तर, सरकार सुनिरहेको छैन। सायद एक्लै हिँड्ने मानसिकताले उसलाई संकीर्ण बनाएको छ।

प्रतिक्रिया दिनुहोस्