विराटनगर भन्सारबाट राजस्व लक्ष्यभन्दा ६० प्रतिशत कम संकलन



सरोज यादव, विराटनगर।

पूर्वको प्रमुख भन्सार नाका रहेको विराटनगरस्थित रानी भन्सार कार्यालयको राजस्व संकलनमा लक्ष्यभन्दा न्यून संकलन भएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो भन्सार कार्यालयको राजस्वमा ६० प्रतिशत कमी आएको छ। भारत तथा तेस्रो मुलुकबाट मालवस्तुको आयात र नेपालबाट निर्यात घटेपछि राजस्व संकलनमा कमी आएको हो।

भन्सार कार्यालयले पुस मसान्तसम्ममा २५ अर्ब ६६ करोड ८९ लाख रुपियाँ राजस्व संकलनको लक्ष्य लिएकोमा १५ अर्ब ४३ करोड ५९ लाख रुपियाँ मात्र संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले बताउनुभयो।

भारतको मिरगन्ज पुल हुँदै आउने सामानको पैठारी पुलको मर्मतको कामले अवरोध भएपछि सुनसरी भन्सारबाट हुन थालेसँगै विराटनगर भन्सारको राजस्वमा कमी आएको हो।

विराटनगर भन्सारबाट ७ किलोमिटर दक्षिणमा भारतको बथनाह नजिक रहेको मिरगन्ज पुल भासिएकाले ४० टनभन्दा बढीका सवारी साधन विराटनगर भन्सारतिर आउन सकेका छैनन्। पौडेलका अनुसार यसकारण यसले चामललगायत वस्तु सुनसरी भन्सारबाट आयात हुँदा यताको भन्सारको राजस्वमा असर परेको छ।

भारतले २ अर्ब १० करोड रुपियाँ लागतमा आईसीपी निर्माण गरी हस्तान्तरण गरेर सञ्चालनमा आए पनि मिरगञ्जको पुल पूर्णरूपमा निर्माण नगर्दा ७ किलोमिटरको दूरी पार गर्न मालगाडीलाई ३ दिन लाग्ने गरेको यहाँका उद्योगी व्यापारीले बताएका छन्। मिरगन्ज पुल नबन्दासम्म निकासी र पैठारीबाट हुने राजस्वमा कमी आउने भन्सार कार्यालयले भनाइ छ।

यस्तै भारत निकासी हुँदै आएको पाम आयल, फलाम, तामाका तारलगायतको निर्यातमा ह्रास र खुद्रा मालवस्तुको पैठारीमा आएको कमीले लक्ष्यअनुसार राजस्व उठाउन नसकिएको सूचना अधिकारी पौडेलले बताउनुभयो। राजस्व संकलन घट्नुको अर्को कारण भारतबाट आयात हुने जुस तथा खाद्यपदार्थको प्रतिबन्ध पनि रहेको उहाँले बताउनुभयो।

छ महिनाभन्दा कमको ‘एक्सपायर डेट’ भएको खाद्यपदार्थ र सिन्थेटिक फ्लेभर भएको जुसमा रोक लगाएपछि पैठारी घटेकाले पनि राजस्वमा कमी आएको छ। यस्तै भारतबाट हुँदै आएको गार्मेन्टको आयात शून्य झर्नु पनि राजस्व प्रभावित हुनुको अर्को कारण रहेको पौडेलको भनाइ छ।

विराटनगर भन्सारबाट पुस मसान्तसम्ममा भन्सार महशुलतर्फ १० अर्ब ९६ करोड १७ लाख रुपियाँ असुलीको लक्ष्य रहेकोमा ६ अर्ब २५ करोड १५ लाख रुपियाँ मात्र संकलन भएको छ।

यस्तै मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ १३ अर्ब ४० करोड ९७ लाख रुपियाँको लक्ष्यमा ८ अर्ब १४ करोड ७७ लाख र अन्तःशुल्कतर्फ १ अर्ब २९ करोड ७४ लाखको लक्ष्यमा १ अर्ब ३ करोड ६६ लाख मात्र संकलन भएको छ। गत आवको पहिलो ६ महिनाको अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाख रुपियाँ राजस्व संकलनको लक्ष्य राखेकोमा १९ अर्ब ५७ करोड ३० लाख रुपियाँ असुल गरेको थियो।

चालू आवको ६ महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलको आयातबाट संकलन भएको छ। यसबाट १ अर्ब १८ करोड ५८ लाख रुपियाँ राजस्व उठेको छ। राजस्व संकलन बढी हुने दोस्रो वस्तुको रूपमा रहेको मोटरसाइकलबाट १ अर्ब १० करोड ९८ लाख रुपियाँ संकलन भएको छ भने तेस्रोमा फलामको कच्चा पदार्थबाट ७८ करोड ३७ लाख रुपियाँ राजस्व उठेको छ।

प्रतिक्रिया दिनुहोस्