मानव जातीको कल्याण गर्ने पद्धती हिन्दुत्वः पूर्व प्रधान सेनापति कटुवाल



यमलाल भुसाल, बुटवल ।

हिन्दु धर्मको माग गर्दै सोमबार बुटवलमा धार्मिक सभा गरिएको छ । नेपालको संविधानमा धर्म निरपेक्षता उल्लेख गरेर गल्ती भएको भन्दै त्यसका बिरुद्व धार्मिक सभा गरिएको हो । हिन्दु जागरण नेपाल बुटवलको आयोजनामा धार्मिक र्यालीसहित सभाको आयोजना गरिएको हो ।

सोही सभामा बोल्दै पूर्व प्रधान सेनापति रुक्माङ्गत कटुवालले नेपाल र नेपालीको पहिचानका लागि नेपालमा हिन्दु राज्य आवश्यक परेको बताउनु भयो । उहाँले हिन्दु राज्य धर्म नभएको उल्लेख गर्दै सबै नेपालीको संरक्षण र चिनारिका लागि हिन्दु राज्यको माग गरिएको बताउनुभयो । मानव जातीको कल्याण गर्ने पद्धती हिन्दुत्व भएको बताउदै उहाँले सृष्टिमाथी हमला गर्न नहुने जिकिर गर्नु भयो ।

उहाँले हिन्दु धर्म र हिन्दु राज्यले सबैको रक्षा तथा संरक्षण गर्ने दावी गर्दै हिन्दु राज्यले नेपालको पहिचानलाई संसारभर चिनाउनका लागि पनि हिन्दु राज्यको विकल्प नभएको बताउनुभयो । हिन्दु राज्यको नेपालको मौलिक पहिचान, संस्कृति र संस्कार भएको उहांको भनाई रहेको थियो । पण्डित भमिकान्त पन्थीले अखण्ड हिन्दु राज्यलाई कायम गर्नुपर्ने बताउँदै धर्म परिवर्तन गरेर हिन्दु धर्ममाथि आक्रमण गरिएको बताउनु भयो ।

उहाँले हिन्दु राज्य कायम गर्नका लागि अब हुने चुनावमा हिन्दु सत्ता स्थापना गनुपर्नेमा जोड दिनुभयो । पण्डित तथा नेपाल ज्याेतिष परिषद् प्रदेश पाँचका संयोजक जनार्दन शर्माले हिन्दु धर्मका बिरुद्व मौलिक धर्म, संस्कृति र संस्कारमाथि भ्रर्म सिर्जना गरिएको बताउनु भयो ।

हिन्दु राज्य कायम गरौं, जातीय छुवाछुतको अन्त्य गरौं, धर्म परिवर्तन बन्द गर, भ्रष्टाचारको अन्त्य गरौं, एमसीसी चाहिदैन जस्ता विभिन्न नारासहित बुटवलमा धार्मिक र्याली निकालिएको थियो ।उमा ढकालको अध्यक्षता,नारायण कोइरालाको सञ्चालन र गोविन्द शर्माको स्वागतमा कार्यक्रम भएको थियो । हिन्दु जागरण नेपाल बुटवलको आयोजनामा बुटवलको नयां गाउंमा सञ्चालित त्रिदिवशीय धार्मिक प्रशिक्षण कार्यक्रम सोमबार समापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्