दुर्घटना न्यूनीकरण गर्न यात्रुवाहक सवारीसाधनमा ‘टाइम कार्ड’ सिस्टम



सरोज यादव, विराटनगर ।
प्रदेश १ मा छोटो एवं मध्यम दूरीमा सञ्चालनमा रहेका सार्वजनिक यात्रुवाहक सवारी साधनमा ‘टाइम कार्ड’ सिस्टम लागू गरिएको छ । झापा, मोरङ र सुनसरीका राजमार्गलाई लक्षित गर्दै तीव्र गति रोक्न र दुर्घटना न्यूनीकरणको मुख्य उद्धेश्य राखेर यातायात व्यवसायीसँगकै समन्वयमा ट्राफिक प्रहरीले पहिलो पटक तराईका तीन जिल्लामा एकै पटक ‘टाइम कार्ड’ प्रणाली लागू गरेको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी व्यारेजसम्म र कोशी राजमार्ग अन्तर्गत विराटनगरदेखि धरानसम्म गुड्ने सार्वजनिक यात्रुवाहक सवारी साधनले यो नियम मान्नु पर्ने छ । प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गछियामा औपचारिक रुपमा यसको शुभारम्भ गर्नुभयो ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले विशेष गरेर सबै भन्दा बढी दुर्घटना भएको पाइएपछि राजमार्ग केन्द्रीत गरेर नयाँ नियम लगाइएको बताउनुभयो । सुनसरी, मोरङ र झापामा चल्ने सार्वजनिक यात्रुवाहक सवारी साधनमा टाईम कार्ड लागु भएसँगै यात्रा सहज हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश एकका संयोजक सरोज श्रेष्ठले दाबी गर्नुभएको छ । संयोजक श्रेष्ठका अनुसार हाललाई काकडभिट्टाबाट विर्तामोड, विर्तामोडबाट दमक, दमकबाट विराटनगर कन्चनबारीमा टाइम कार्डका लागि जाँच केन्द्र रहनेछ।

त्यसैगरी इटहरीबाट कोशी ब्यारेज निकट भण्टाबारीमा समेत केन्द्र रहनेछ । हाल विराटनगर धरानको सडक निर्माणका क्रममा रहेकोले केन्द्र नराखिए पनि प्रहरीले अनुकुल अवस्थामा बसको समय लिने उहाँले बताउनुभयो । विराटनगरका यातायात व्यवसायी भने टाइम कार्डले यात्रुमाझ समस्या उत्पन्न हुने बताएका छन । विराटनगरबाट काकडभिट्टा पुग्न बढीमा ३ घण्टाको समयमा अब साढे चार घण्टासम्म यात्रा गर्नुपर्ने उनीहरुले दावी गरेका छन ।

ट्राफिक प्रहरीले ‘टाइम कार्ड’मा छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छापसमेत लगाउने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोद्धारले जानकारी दिनुभयो । उहाँले नियम अनुसार सवारी साधन चले नचलेको चेकजाँच गर्न ट्राफिकको विशेष टोली रहने बताउनुभयो । एकसातासम्म टाइम कार्डको विषयमा बस चालकलाई प्रशिक्षण दिने र एकपटकमा चालकलाई सम्झाउने, दोश्रो पटक पनि सोही गल्ती दोर्होयाए १ हजार ५ सय रुपैयाँ जरिवाना गरिने ट्राफिक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको पुससम्म प्रदेश एकमा ४ सय ४७ वटा सडक दुर्घटना भएका छन । सो दुर्घटनामा १ सय ७७ जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ । जसमा १ सय ९ जनाको मृत्यु राजमार्गमा भएको दुर्घटनामा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्