मेची अञ्चल अस्पतालले वेवारिसे महिलाको उद्धार गर्न दिएन, अधिकारकर्मी फर्किए



न्युज अफ नेपाल, भद्रपुर ।

मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुरले संरक्षण गृहको आधिकारिक पत्र र व्यक्ति लिएर आए मात्र महिला हस्तान्तरण गर्ने अडान राखेपछि अधिकार कर्मी फर्किएका छन् ।

शारीरिक रूपमा समेत अशक्त रहेकी ती महिलालाई प्रदेश नम्वर १ सामाजिक विकास मातहत रहेकोको बेसाहाराको आश्रय स्थल माया घर इटहरीमा मानव अधिकारकर्मीले लैजानका लागि अञ्चल अस्पताल प्रशासनले आधिकारिकताको पत्र मागेपछि उद्धार प्रयास विफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको स्वीकृत पत्रलाइ मेची अञ्चल अस्पताल भद्रपुरले अवज्ञा गरेको छ । भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवासिरे रूपमा रहेकी महिलाको आफन्त नभेटिएपछि उद्धारका लागि प्रहरीको अनुमति लिएर आएको मानव अधिकारकर्मीहरूको टोली फिर्ता गएको हो ।

उद्धारका लागि मानव अधिकारकर्मी विष्णुप्रसाद खरेल, दिपक दास, रेखा अधिकारी र ऋषि चापागाई जिल्ला प्रहरी कार्यालय झापाबाट आधिकारिक स्वीकृति लिएर अञ्चल अस्पताल गएका थिए । प्रहरी प्रशासनबाट उद्धार गर्न स्वीकृति पाए पनि अस्पताल प्रशासन प्रमुखले बढी आधिकारिकता खोजेपछि उद्धार असफल भएको उद्धारमा लागेका दिपक दासले बताउँनुभयो ।

दासले दर्जन बढी बेसाहारा व्यक्तिहरूको उद्धार गर्दा आश्रय स्थलको आधिकारिकता नचाहिएको तर यस घटनामा आश्रय स्थलको आधिकारिकता खोजिनुले मानवीय सेवामाथि प्रहार गरेको उहाँको आरोप थियोे ।

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल भने बेसाहा रहेकी ती महिलाको उद्धार गर्न मानव अधिकार कर्मीलाई सहज बनाइ दिन प्रमुख जिल्ला अधिकारी लगायत प्रशासनिक निकायसित सहजीकरण गरेको बताउँनुहुन्छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुरले महिलाको उद्धार गर्न सरकारी नियम अनुसारको प्रकृया पूरा गरेर आउन आग्रह गरेको बताउँनुभयो ।

राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न समेत नसक्ने महिला आफू दार्जेलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् ।

दोहोरो कुराकानी समेत गर्न नसक्ने महिला आफूलाई डिकी तामाङ भएको बताउँछिन् । अधबैंसे उमेर समूह जस्तो देखिने ती महिलालाई झापा प्रहरीले खुट्टा भाँचिएको अवस्थामा असोजमा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्