डोटीमा सवारी चेकिङमा कडाइ, १० लाख बढी राजस्व संङ्कलन



विमल विष्ट, डोटी ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल डोटीले सवारी साधन चेकजाँचमा कडाइ गर्न थालेको छ । जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढेको पाइएपछि सवारी चेकिङमा कडाइ गर्न थालेको हो । सावरी चेकिङमा कडाइ गरिएसंगै यहाँको सवारी दुर्घटनामा न्यूनीकरण आउनुका साथै राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल डोटीले दिएको जानकारी अनुसार आर्थिक वर्ष बिसं २०७४/२०७५ मा चार हजार २३६ जना सवारी चालकलाई कारबाही गरी रु २३ लाख २४ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने आर्थिक वर्ष बिसं २०७५/२०७६ मा चार हजार ४५४ जनालाई कारबाही गरी रु २४ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष बिसं २०७६/२०७७ को मङ्सिर महिना सम्ममा १ हजार ६२९ जना सवारी चालकलाई कारबाही गरीएको छ । उत्त का।वाहिबाट कुल रु १० लाख २ हजार रकम राजस्व सङ्कलन भएको छ । सवारी चेकजाँचसहित अन्य नियममा कडाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा सडक दुर्घटनामा क्रमिक रुपमा न्यूनीकरण हुन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल डोटीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक अशोक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सवारी दुर्घटना न्यूनिकरणकालागि जिल्ला व्यापी अभियान नै चलाएका छौँ, जस्ले गर्दा यहाँको सवारी दुर्घटनामा कमि आउनथालेको छ ।”

जिल्लामा सडक दुर्घटनाको पछिल्लो अवस्था हेर्दा आर्थिक वर्ष बिसं २०७४/२०७४ मा सडक दुर्घटना परि ३० जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष बिसं २०७५/२०७६ मा ११ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष बिसं २०७६/२०७७ को कात्तिक सम्ममा ४ जनाको मात्र मृत्यु भएको सो काउर्यालयको तत्थ्यांङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै ट्राफिक प्रहरी बस्ने भवन र दरबन्दी अनुसारका कर्मचारी नहुँदा पनि ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको ट्राफिक प्रहरी प्रमुख अशोक खड्काले गुनासो गर्नु भयो । जनशक्ति अभाव डोटीमा मात्र नभई सुदूरपश्चिमका सबै जिल्लाहरूमा रहेको र क्रमिक रुपमा ट्राफिक प्रहरी संंङ्ख्या थपिदै जाने सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनशक्ति अभाव छ, सबै जिल्लाका आफ्ना भवन छैनन् तर पनि आफूसँग भएको जनशक्ति र स्रोत साधनलाई पूर्ण रूपमा प्रयोग गरेका छौ सेवा प्रवाहमा बाधा हुन दिन्नौ ।” ट्राफिकप्रहरीले जिल्लामा सञ्चालन गरेको ट्राफिक सचेतना अभियान अनुसार सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटरसाइकलमा तिन जना सवार गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने, सिट बेल्ट नबाँध्ने, लापरबाही गर्ने, नम्बर प्लेट नभएका जस्तो अवस्थामा रहेकालाई कारबाही गरिएको ट्राफिक कार्यालय दिपायल डोटीले जनाएको छ ।

ट्राफिक प्रहरी जिल्लाको आवश्यकता अनुसार कम भए पनि जिल्लाका मुख्य बजारहरू बुडर, बिपीनगर, सानागाँउ, तिलतालि, सिलगढी र दिपायलमा बजारमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति भवाभ हुँदा पनि जिल्लाका प्रमुख बजारमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, सडक पुगेका जिल्लाका अन्य ग्रामिण क्षेत्रमा पनि बिस्तारै परिचालन गर्ने योजनामा छौँ ।”

प्रतिक्रिया दिनुहोस्